‘गरिबीले पलपल थिचिरहेको जीवन’

सिरहा, ९ असोज – लहान नगरपालिका–१४, बस्तीपुरस्थित सीता पासवानको घरमा अहिले दुःखको छाया मात्र छ। असोज २ गते श्रीमान् बद्री पासवानको निधनसँगै उनको जीवन एकाएक बदलिएको छ। झुप्रोको छानोबाट पानी चुहिरहेको छ, तर सीताको मन अझ चिसो बनेको छ।

बद्रीको निधनसँगै तीन नाबालक छोराको सम्पूर्ण जिम्मेवारी आमा सीताको काँधमा आएकाछन्। भोक, अनिश्चितता र भविष्यको चिन्ताबीच उनी दैनिकी गुजारिरहेकी छन्। “भरदिन मजदुरी नगरे बेलुकी बच्चाहरूको पेट भरिँदैन,” आँसु पुछ्दै सीताले भनिन्। उनका तीनै छोराहरू कक्षा ९, ८ र ५ मा अध्ययनरत छन्  बुबाको मृत्युको पीडाभन्दा पनि भविष्य अन्धकारमय हुने डरले मौन छन्।

चार वर्षदेखि डाइबेटिज र मिर्गौलाको रोगसँग लड्दै आएका बद्रीको निधनले परिवारको संघर्षलाई झनै गहिरो बनाएको छ। पाँच धुर जमिनमाथि बनेको माटोको झुप्रोमै उनीहरू बस्छन्। नगरपालिकाले जस्ता दिने वाचा गरे पनि छानो हाल्ने खर्च जुटाउन नसक्ने सीताको पीडा छ। भोकै बच्चा सुत्नु, स्कुल शुल्क तिर्न नसक्नु, किताब किन्न नसक्नु—यिनै अभावहरू सीताको आँसुका कारण बनेका छन्।

छिमेकी राजकुमार सदा भन्छन्, “बद्री गयो, तर यस परिवारको हालत देख्दा झन् मन भक्कानिन्छ। गरिबीले पलपलमा दुःख दिइरहेको छ।” यी सबै पीडाबीच सीतालाई हराएकी छोरीको याद झन् पीडादायी छ। मानसिक रूपमा अस्वस्थ रहेकी छोरी चार वर्षदेखि हराएकी हुन्। “कसैले सडकमा देखेको भने पनि भेटाउन सकिनँ। अब पश्चाताप मात्र छ,” सीता भन्छिन्।

बद्रीको मृत्युपछि नगरपालिकाले खाद्य सामग्री दिएको थियो। नगरप्रमुख महेशप्रसाद चौधरी भन्छन्, “यो राहत तत्कालका लागि हो, दीर्घकालीन समाधानका लागि पनि पहल गरिन्छ।” वडाध्यक्ष धानिकलाल यादवले नगरसँग समन्वय गरेर पासवान परिवारलाई घर बनाउन पहल गर्ने बताएका छन्।

तर सीताको चाहना केवल ‘घर’ मात्र होइन। उनी भन्छिन्, “सन्तानको शिक्षा नै भविष्य हो। समयमै साथ र सहयोग पाइयो भने मेरा छोराले बुबाको सपना पूरा गर्न सक्छन्।” दुःख, आँसु र अभावबीच पनि सीताको आँखामा आशा देखिन्छ—एक दिन उज्यालो आउनेछ भन्ने विश्वास छ । सबैबाट सहयोग भए मात्रै यो आशा पूरा हुन सम्भव रहेको उहाँको बुझाइ छ ।

Facebook Comments Box