भक्तपुरमा दसैँका लागि च्याङ्ग्रा ल्याइयो, मूल्य बढ्यो
भक्तपुर, ८ असोज — दसैँ नजिकिएसँगै भक्तपुरमा च्याङ्ग्राको व्यापार सुरु भएको छ। मुस्ताङबाट ल्याइएका च्याङ्ग्रा सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी चौरमा राखेर बिक्री गर्न थालिएको छ।
व्यापारीहरूले प्रतिकिलो जिउँदो च्याङ्ग्रा रु १,३०० देखि १,३५० सम्ममा बिक्री गरिरहेका छन्। गत वर्ष प्रतिकिलो रु १,०५० मा बिक्री भएकोमा यस वर्ष मूल्य उल्लेख्य रूपमा बढेको हो।
रामेछापका व्यापारी हिमलाल श्रेष्ठका अनुसार यस वर्ष मुस्ताङको घार क्षेत्रमा नै च्याङ्ग्राको खरिद मूल्य बढेकाले उपभोक्ताले पनि महँगो तिर्नु परेको हो। “चीनबाट मुस्ताङसम्म ल्याइएका च्याङ्ग्रा खरिद गर्दा प्रतिगोटा रु ४० देखि ४५ हजार तिर्नुपरेको छ।
गोटा गन्तीमा खरिद गरेर यहाँ किलोमा बिक्री गर्नुपर्दा उपभोक्तालाई अझ महँगो पर्छ,” श्रेष्ठले बताए। व्यापारी रमेश खड्काले पनि मुस्ताङमै बढी मूल्य तिर्नु परेकाले च्याङ्ग्राको खुद्रा मूल्य बढेको बताए।
उनले यस वर्ष विभिन्न ठाउँमा झन्डै रु ३० हजार कर तिरेको र भक्तपुर नगरपालिकालाई मात्र प्रतिव्यापारी रु २५ हजार कर तिर्नुपरेको जानकारी दिए। भक्तपुरका साथै काठमाडौंँ, ललितपुर र काभ्रलगायत क्षेत्रका उपभोक्ता च्याङ्ग्रा लिन भक्तपुर आउन थालेका छन्।

