माओवादीले केन्द्रीय समिति भङ्ग गरी विशेष महाधिवेशन गर्ने

काठमाडौँ, ८ असोज – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले हालको केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने तयारी गरेको छ।

पार्टीको पेरिसडाँडास्थित मुख्यालयमा आज बसेको स्थायी समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने र त्यसको संयोजन स्वयं अध्यक्षले गर्ने प्रस्ताव आगामी केन्द्रीय समिति बैठकमा पेश गर्ने निर्णय गरेको हो।

उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार, पार्टीभित्र एकता कायम गर्न र वर्तमान राजनीतिक परिस्थितिको मागअनुसार केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव गरिएको छ। साथै, विशेष महाधिवेशनको मिति तोक्ने प्रस्ताव पनि केन्द्रीय समितिमा पेश गरिनेछ।

यसै सन्दर्भमा, माओवादी केन्द्रले असोज ९ गते केन्द्रीय समिति बैठक बोलाएको छ। उक्त बैठकले स्थायी समितिको प्रस्तावमाथि छलफल गर्दै अन्तिम निर्णय गर्नेछ।

हालैको जेनजी आन्दोलनपछि राजनीतिक दलहरूमा पुस्तान्तरणको दबाब बढिरहेको अवस्थामा माओवादी केन्द्रले यो कदम अघि सारेको हो। बैठकले सरकारलाई प्रतिनिधिसभा निर्वाचन तोकिएको मितिमै—आगामी फागुन २१ गते—सम्पन्न गराउन ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ।

यस्तै, बैठकले जेनजीसहित लोकतान्त्रिक र प्रगतिशील शक्तिसँग वार्ता र सहकार्य गर्ने, समाजवादी मोर्चा र समान विचारधाराका पक्षसँग एकता गर्ने तथा व्यापक प्रगतिशील मोर्चा निर्माण गर्ने पहल गर्ने निर्णय गरेको छ।

“परिस्थिति तीव्र गतिमा बदलिँदै गएको छ। यस्तो अवस्थामा परिवर्तनकारी शक्तिहरू एकताबद्ध भएर अघि बढ्न जरुरी छ भन्ने बैठकको निष्कर्ष हो।

जेनजी पुस्ताले उठाएका मागहरू जायज भए पनि त्यसलाई विशेष परिस्थितिको परिणामका रूपमा लिएर अग्रगामी शक्तिहरूको साझा प्रयास अपरिहार्य देखिन्छ,” प्रवक्ता सापकोटाले बताउनुभयो।

Facebook Comments Box