तातोपानी र केरुङ नाका बन्द, दसैँको सामान अभाव

काठमाडौँ, ७ असोज – चीनसँग जोडिने सिन्धुपाल्चोकका तातोपानी र केरुङ नाका बन्द हुँदा दसैँका लागि ल्याइएका सामान नआएर व्यवसायी मारमा परेका छन्। व्यवसायीहरूका अनुसार वर्षात्का कारण दुवै नाका अवरुद्ध हुँदा हजारौँ कन्टेनर सामान सीमा क्षेत्रमा रोकिएका छन्। गत असार २४ गते लेन्दे खोलामा आएको बाढीले मितेरी खोलाको पुल बगाउँदा पासाङल्हामु राजमार्ग अझै सञ्चालनमा आएको छैन।

त्यस्तै, अरनिको राजमार्गमा पहिरोका कारण तातोपानी नाका पनि बन्द छ। व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्कीले सामान समयमै भित्र्याउन नसक्दा बजारमा अभाव र मूल्यवृद्धि भएको बताए। पूर्वअध्यक्ष सरोज श्रेष्ठका अनुसार तातोपानी नाकामा तीन हजारभन्दा बढी र केरुङमा करिब एक हजार ५०० कन्टेनर रोकिएका छन्।

अध्यक्ष मनोजबाबु श्रेष्ठले दसैँ नजिकिँदै गर्दा बाटो बन्द हुनु व्यवसायीका लागि ठूलो चिन्ता भएको बताए। सामान नआएपछि ग्राहकले समेत महँगोमा खरिद गर्नुपरेको गुनासो गरेका छन्। काठमाडौँका व्यापारी क्षेत्रहरू — महाबौद्ध, असन, न्युरोड, कलङ्की, चाबहिल, कोटेश्वर र बानेश्वरमा ग्राहकको भीड बढ्दै गएका छन् तर लत्ताकपडालगायतका वस्तु गत वर्षभन्दा महँगो भएको उपभोक्ताको अनुभव छ।

Facebook Comments Box