काठेखोलामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण
बागलुङ, ५ असोज – काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको रु तीन करोड ६४ लाख ६५ हजारको बजेटमा वडा नं ७, रेशमा अस्पताल निर्माण गरिएको हो । यसअघि गाउँपालिकाले तीन वर्षअघि नै गाउँगाउँमा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको थियो ।
स्थानीय तहकै पहलमा गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल निर्माण गरिएको हो । यसअघि गाउँपालिकामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइबाहेक अन्य स्वास्थ्य संस्था नभएकाले जटिल स्वास्थ्य समस्या देखिएमा नागरिकलाई बागलुङ बजार धाउनुपर्ने बाध्यता थियो । अहिले सात वडामा सात स्वास्थ्यचौकी र चार आधारभूत स्वास्थ्य एकाइ सञ्चालनमा छन् ।
पालिकाका अध्यक्ष राजु थापाका अनुसार टाढापारिका बस्तीलाई लक्षित गरी रेशमा अस्पताल निर्माण गरिएको हो । उहाँले भन्नुभयो, “हरेक नागरिकले सहज रूपमा उपचार सेवा पाउनुपर्छ । त्यसका लागि पहिले स्वास्थ्यचौकी र स्वास्थ्य एकाइ स्थापना गरेका थियौँ, अब पाँच शय्याको अस्पताल पनि सञ्चालनमा ल्याउने तयारी छ ।”
अस्पताल निर्माणको जिम्मा लिएको कम्पनीले २०८१ साउनदेखि काम सुरु गरी तोकिएको समयभन्दा करिब छ महिनाअघि नै काम सम्पन्न गरेको छ । वडा नं ७ का वडाध्यक्ष प्रेम लामिछानेले आधारभूत अस्पताल बनेपछि अब स्वास्थ्यचौकीको सेवा अस्पतालमै समेटिने र थप सेवा विस्तार हुने जानकारी दिनुभयो । पछिल्लो पाँच वर्षमा पालिकाले वडा नं ८ कादेस, वडा नं १ दोबिल्ला, वडा नं ४ फापरखेत र वडा नं ५ बिहुँमा आधारभूत स्वास्थ्य एकाइ सञ्चालनमा ल्याइसकेको छ ।

