चमक फिर्ता हुँदै सिंहदरबार, मर्मत र रङरोगन तीव्र गतिमा
काठमाडौँ, ४ असोज – जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीले खण्डहर जस्तो बनेको सिंहदरबारमा अहिले धमाधम मर्मतसम्भार र रङरोगन भइरहेको छ। प्रशासनिक र राजनीतिक शक्ति केन्द्र सिंहदरबार फेरि पुरानै रूप र चमक फिर्ता गर्ने प्रयासमा छ।
आगो र धुवाँले कालो भएका मन्त्रालयका भित्तामा पानीले सफा गरी नयाँ रङ लगाइँदै छ। जलेर नष्ट भएका झ्याल–ढोका, टेबुल, कुर्सी र अन्य फर्निचर मर्मत वा हटाउने काम पनि तीव्र गतिमा भइरहेको छ। साथै, आगजनीमा क्षतिग्रस्त करिब एक हजार सवारीसाधनको व्यवस्थापन र हटाउने कामसमेत चलिरहेको छ।
मर्मतमा खटिएका श्रमिकहरू कोही झ्याल–ढोका मर्मतमा व्यस्त छन् भने कोही बाँसको खटमा चढेर रङरोगन गर्दै छन्। सिंहदरबारमा फेरि चहलपहल बढेको छ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले सिंहदरबार पुनःनिर्माणलाई प्राथमिकता दिने निर्णय गरेपछि यो काम तीव्र भएको हो। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पदभार ग्रहणका क्रममा भनेका थिए – “सिंहदरबारका कालो भएका भित्तामा रङरोगन गरेर हामी विनाशबाट चाँडै उठ्यौँ भन्ने सन्देश दिन्छौँ।”
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका कर्मचारीहरूले भदौ २८ गते बिदाको दिन समेत कार्यालयमा उपस्थित भएर सरसफाइमा सहयोग गरेका थिए। अहिले मन्त्रालयहरूका कर्मचारी ‘रोस्टर’ प्रणालीमा सरसफाइ र मर्मतमा संलग्न भइरहेका छन्।
सङ्घीय सचिवालय, निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर चक्रवर्ती कण्ठका अनुसार, अर्थ र ऊर्जा मन्त्रालयले आफ्नै पहलमा काम सुरु गरे पनि अन्य मन्त्रालयको मर्मतसम्भार र रङरोगन तीव्र गतिमा भइरहेको छ र छिट्टै सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
भदौ २४ को प्रदर्शनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, सङ्घीय मामिला, कृषि, भौतिक पूर्वाधार, शिक्षा, ऊर्जा, सहरी विकास र अर्थ मन्त्रालयमा ठूलो क्षति पुगेको थियो। साथै, विभिन्न दलका संसदीय दलका कार्यालयमा समेत आगजनी र तोडफोड भएको थियो।
गृह र स्वास्थ्य मन्त्रालयमा क्षति अत्यधिक भएकाले ती भवनलाई पुनःनिर्माण गर्ने तयारी गरिएको छ। पार्किङमा जलेर नष्ट भएका सवारीसाधन हटाउने र व्यवस्थापनको काम पनि जारी छ।
रक्षा, कानुन, पर्यटन, वन, सञ्चार, श्रम, उद्योग, महिला तथा बालबालिका मन्त्रालयमा सामान्य क्षति मात्र भएकाले ती कार्यालयमा मर्मतपछि छिट्टै नियमित कामकाज सुरु हुने भएको छ। नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय योजना आयोग भने जेनजी आन्दोलनको क्षतिबाट बच्न सफल भएका छन्।

