म्याग्दीको निस्कोट स्वास्थ्यचौकी जीर्ण, त्रिपालमुनि उपचार
म्याग्दी, ४ असोज । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटस्थित स्वास्थ्यचौकी जीर्ण बनेपछि सेवा प्रभावित भएको छ। तीस वर्षअघि बनेको एकतले भवनको छानो चुहिन थालेपछि बर्खायाममा त्रिपाल ओढेर बिरामीको उपचार गर्नुपरेको चौकीका प्रमुख अजित विकले जानकारी दिनुभयो। “जीर्ण भवनमा पानी चुहिँदा समस्या हुन्छ।
पछिल्ला तीन वर्षदेखि बर्खामा त्रिपालमुनि बिरामी राखेर सेवा दिँदै आएका छौँ,” उहाँले भन्नुभयो, “त्रिपाल पनि थोत्रो भएकाले यसपालि फेरि वडा कार्यालयसँग माग गरेका छौँ।” स्वास्थ्यचौकीको चारवटा साँघुरा कोठामा बिरामी जाँच, औषधि वितरण र सामान्य उपचार भइरहेको छ।
असुविधाबीच पनि यो स्वास्थ्यचौकीमा यस वर्षदेखि प्रसूति सेवा सुरु गरिएको छ, जहाँ मासिक १५०–२०० जनाले उपचार लिने गरेका छन्। बिसं २०५० मा बनेको यो भवन मर्मत नहुँदा समस्या बढ्दै गएको हो। मालिका गाउँपालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनका अनुसार जग्गा अभावका कारण नयाँ भवन निर्माण प्रक्रिया अघि बढाउन सकिएको छैन।

