नेपाली केराले दसैं, तिहार र छठको माग धान्ने, आयात नगर्न व्यवसायीहरूको अपिल
काठमाडौँ, १ असोज – नेपाल केरा उत्पादक महासङ्घले यस वर्ष नेपालमै उत्पादित केराले दसैं, तिहार र छठ पर्वको माग धान्न सक्ने भएकाले केरा आयात नगर्न आग्रह गरेको छ।
महासङ्घका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तका अनुसार अहिले देशभर उत्साहजनक मात्रामा केरा उत्पादन भएको छ र त्यो उत्पादनले बजारको माग पूरा गर्न पर्याप्त भएकाले विदेशी केरा आयात रोक्न थोक फलफूल तथा तरकारी व्यवसायी सङ्घलाई पत्राचार गरिएको छ।
अनुरोधपत्रमा विदेशी केरा आयात निरन्तर भइरहे नेपाली अर्थतन्त्र, वैदेशिक व्यापार घाटा, रोजगारी र किसानको आजीविकामा प्रत्यक्ष असर पर्ने चेतावनी दिइएको छ। महासङ्घले भनेको छ – “यदि आयात रोकिएन भने किसान र समर्थकहरू आन्दोलित हुन सक्नेछन् र त्यसबाट हुने क्षतिप्रति महासङ्घ जिम्मेवार हुने छैन।”
महासङ्घले असोज ६ गतेदेखि भारतबाट केरा आयात नगर्न व्यापारीहरूलाई आग्रह गरेको छ। यस अपिलमा चितवन, कैलाली, कञ्चनपुर, बर्दिया, नवलपरासीका केरा उत्पादक सङ्घका अध्यक्ष र प्रतिनिधिहरूको संयुक्त हस्ताक्षर छ। उनीहरूले नेपालमै उत्पादन भएको केरा प्राथमिकतामा प्रयोग गर्न माग गरेका छन्।

