सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

पाल्पा, १ असोज – राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको निर्माण कार्य ६१ प्रतिशत पूरा भएको छ। ‘ब्रेक थ्रु’ सम्पन्न भएपछि कामले तीव्रता पाएको आयोजना प्रमुख दूध अधिकारीले जानकारी दिनुभयो।

हालसम्म सुरुङको भित्री भागमा लाइनिङ र ढलानको सम्पूर्ण काम सम्पन्न भइसकेको छ। एक हजार १२६ मिटर लामो सुरुङमध्ये १,०८९ मिटर भाग निर्माण भइसकेको छ। सुरुङको पर्खालमा कङ्क्रिट, सटक्रिट र ब्लकको संरचनात्मक लाइनिङ गरिएको छ। इन्भर्टको काम समेत १,०८९ मिटरमा पूरा भएको छ।

उत्तर र दक्षिण दुवै पोर्टलको काम अघि बढाइँदैछ। उत्तरतर्फ १९ मिटर र दक्षिणतर्फ १८ मिटर पोर्टल निर्माण गर्न बाँकी रहेको छ। साथै, दुबै तर्फ हेलिप्याड निर्माण भइरहेको छ। अधिकारीका अनुसार आगामी पाँचदेखि सात महिनाभित्र मुख्य टनेल प्रयोगमा ल्याएर सवारीसाधन आवागमन सुरु गर्न सकिनेछ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म जोड्ने यो सुरुङमार्गको निर्माण कार्य २०७९ सालदेखि सुरु गरिएको हो।

यो आयोजना रु ७ अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पाँच वर्षभित्र सम्पन्न गर्नेगरी अघि बढाएको हो।

यस खण्डमा लगातार पहिरो झर्ने समस्या रहेकाले, विशेषगरी सुक्खायाममा पनि धुले पहिरो खस्ने भएकाले, राजमार्गलाई सुरक्षित बनाउन यो सुरुङमार्ग निर्माण गरिएको हो।

Facebook Comments Box