कोराला नाका सञ्चालनले व्यवसायीमा उत्साह
म्याग्दी, १ असोज । मुस्ताङको कोरला नाकाबाट नेपाल–चीनबीच व्यापारिक गतिविधि औपचारिक रुपमा सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशका व्यापारी उत्साहित भएका छन् । यसले व्यापार–व्यवसायका नयाँ सम्भावना सिर्जना गरेको उनीहरूको भनाइ छ ।
तातोपानी र रसुवा नाका अवरुद्ध भएपछि व्यापारीहरूले मुस्ताङ र म्याग्दी हुँदै काठमाडौँसम्म चिनियाँ सामग्री आयात–निर्यात गर्न थालेका हुन् । विसं २०८० कात्तिक २७ गते उपल्लो मुस्ताङवासीलाई मात्र प्रयोग गर्न दिइएको कोरला नाका करिब दुई वर्षपछि व्यापारिक प्रयोजनका लागि सञ्चालनमा आएको हो ।
म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार भारत र चीनका वस्तु आयात–निर्यातसँगै नेपालमा उत्पादन भएका सामग्रीको बजार विस्तारमा कोरला नाका र कालीगण्डकी करिडोरले महत्वपूर्ण अवसर दिएका छन् । उनका अनुसार हालसम्म करिब ३०० कन्टेनर कोरला नाकामा पुगेका छन् भने दसैँको सामान लिन थप १,५०० कन्टेनर जाने तयारीमा छन् ।
“नाकाको सञ्चालनसँगै मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्कीका व्यवसायी उत्साहित भएका छन्,” उनले भने, “गण्डकी र लुम्बिनीका लागि कोरालाबाट सामान ल्याउँदा लागत पनि कम पर्छ ।” कोरला नाकास्थित भन्सार कार्यालयका अधिकृत रमेश खड्काले रसुवा र तातोपानी नाका बन्द भएपछि दसैँका लागि चीनबाट ल्याइएका कन्टेनर कोरालातर्फ डाइभर्ट गरिएको जानकारी दिनुभयो ।
समुन्द्री सतहदेखि ४,७०० मिटर उचाइमा रहेको नाकामा प्रदेश सरकारले गतवर्ष निर्माण गरेको भवनमा इन्टरनेट, विद्युत् र अन्य पूर्वाधार जडान गरी भन्सार सञ्चालनमा ल्याइएको उनले बताए । नाकामार्फत अहिलेसम्म १५१ वटा विद्युतीय गाडी आयात भएका छन् भने नेपालतर्फबाट मूर्ति, कपडा र बाँसका मुढा निर्यात भएका छन् ।
यसबाहेक दसैँका लागि कपडाजन्य सामग्री बोकेका ५५ वटा चिनियाँ कन्टेनर नाकामा आइसकेका छन्, अझै थप आउने क्रम जारी छ । यता, रसुवा नाका असार २४ गतेको बाढी–पहिरोका कारणदेखि बन्द छ भने तातोपानी नाकामा सडक मर्मत ढिलाइ हुँदा ४६ दिनदेखि सामान ढुवानी अवरुद्ध छ । दसैँको पूर्वसन्ध्यामा कच्चा पदार्थ र तयारी सामान नपाएर समस्यामा परेका उद्योगी–व्यापारीलाई कोरला नाका सञ्चालनले ठूलो राहत दिएको छ ।

