पर्यटक आकर्षणको केन्द्र बन्दै भोजपुरको सुन्तले–बाघखोर

भोजपुर, १ असोज – भोजपुर सदरमुकाम नजिकै रहेको सुन्तले–बाघखोर क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको छ । प्राकृतिक सुन्दरता, हिमशृङ्खलाको दृश्य र सांस्कृतिक विविधताले यहाँ आउने जो–कसैलाई लोभ्याइरहेको छ ।

यहाँ पुग्ने पर्यटकले स्थानिय परिकारको स्वाद चाख्दै, हिमालय शृङ्खला र मनोरम दृश्यावलोकन गर्न सक्छन् । बाघखोरका होटल व्यवसायी गणेश तामाङका अनुसार दैनिक दर्जनौँ आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् ।
“भोजपुर आउने अधिकांश पर्यटकले कम्तीमा एकपटक सुन्तले–बाघखोर पुग्ने गर्छन्,” उनले बताए, “यहाँको स्वच्छ हावा, चिसो मौसम र प्राकृतिक सुन्दरताले नै उनीहरूलाई आकर्षित गर्छ ।”

तर, आवश्यक पूर्वाधार अभावका कारण ठूलो सङ्ख्यामा पर्यटक आएमा व्यवस्थापनमा समस्या हुने गरेको उनले बताए । यद्यपि भोजपुर–दिङ्ला सडकमार्ग हुँदै सहजै पुग्न सकिने भएकाले शान्त वातावरण खोज्नेका लागि यो क्षेत्र उत्तम गन्तव्य बन्न थालेको छ ।

समुद्री सतहदेखि करिब २,४०० मिटर उचाइमा रहेको सुन्तले–बाघखोरबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, गौरीशंकरलगायत हिमशृङ्खला, अरुण उपत्यका, अरुण नदी, साल्पासिलिछो चुचुरो, मैयुङ डाँडा, सदरमुकाम भोजपुर, टेम्केडाँडा र भोजपुर–खोटाङ सिमानाको चखेवाभञ्ज्याङसम्म अवलोकन गर्न सकिन्छ ।

पर्यटकलाई लक्षित गर्दै यस क्षेत्रमा भ्यू टावर र वनभोज स्थल निर्माण गरिएको छ । यहाँ बसोबास गर्ने राई, शेर्पा र तामाङ समुदायको संस्कृति, रहनसहन, भेषभूषा तथा स्थानीय परिकारले पनि पर्यटकलाई थप आकर्षित बनाइरहेको छ । भोजपुर सदरमुकामबाट सुन्तले १० किलोमिटर र बाघखोर १२ किलोमिटर दूरीमा पर्छ ।

Facebook Comments Box