कूल वस्तु व्यापारः रु एक खर्ब ४३ अर्बको आयात हुँदा २३ अर्बको निर्यात

काठमाडौँ, ३१ भदौ 

चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा रु १ खर्ब १९ अर्ब ११ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.५ प्रतिशतले वृद्धि भएको हो ।

गत साउन महिनामा वस्तु आयात ११.४ प्रतिशतले बढ्दै रु १ खर्ब ४३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयातमा ०.६ प्रतिशतले कमी आएको थियो ।

आयातको स्थिति

  • भारतबाट आयात ७.५ प्रतिशतले वृद्धि,

  • चीनबाट १४.१ प्रतिशतले वृद्धि,

  • अन्य मुलुकबाट २०.५ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत रूपमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, चामल/धान, कोइला र रासायनिक मलको आयात बढेको छ । तर हट रोल्ड सिट इन क्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, मेसिनरी पार्टस् र तेलहन आदिको आयात घटेको छ ।

निर्यातको स्थिति

यस अवधिमा कूल वस्तु निर्यात ९५.७ प्रतिशतले बढ्दै रु २३ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात ९.६ प्रतिशतले घटेको थियो ।

  • भारततर्फको निर्यात १५६.७ प्रतिशतले बढेको,

  • चीनतर्फको निर्यात ६५.२ प्रतिशतले घटेको,

  • अन्य मुलुकतर्फको निर्यात १.४ प्रतिशतले घटेको देखिएको छ ।

निर्यात बढ्ने वस्तुमा भटमासको तेल, पाम तेल, पोलिस्टर धागो, अलैँची र जुटका सामान प्रमुख छन् । जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, पिना र चियाको निर्यात भने घटेको छ ।

  • निर्यात–आयात अनुपात १६.७ प्रतिशत पुगेको छ (अघिल्लो वर्षमा ९.५ प्रतिशत थियो) ।

  • भारतबाट परिवर्त्य विदेशी मुद्रामा भएको आयात रु १३ अर्ब ४३ करोड रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु १३ अर्ब ९८ करोड थियो । यसरी, आयात वृद्धिसँगै निर्यातमा उल्लेख्य सुधार भए पनि व्यापार घाटा अझै ठूलो रहेको राष्ट्र बैंकले जनाएको छ ।

Facebook Comments Box