सरकारद्वारा जेनजी सहिद घोषणा, परिवारलाई १५ लाख क्षतिपूर्ति र स्मारक पार्क निर्माणको निर्णय

काठमाडौं, ३० भदौ — सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गरेको छ। मन्त्रिपरिषद् विस्तार भएसँगै बसेको बैठकले सहिद घोषणा गर्ने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

उनका अनुसार सहिद घोषित व्यक्तिहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने छ र असोज १ गते देशभर शोक दिवस मनाइने छ।मृतकका परिवारलाई यसअघि घोषणा गरिएको १० लाख क्षतिपूर्ति रकममा थप ५ लाख थपेर कुल १५ लाख उपलब्ध गराइने निर्णय भएको छ।

उक्त रकम अर्थ मन्त्रालयमार्फत निकासा गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिने छ। दुर्गम जिल्लाका मृतकका परिवारलाई यातायात र हवाई भाडा समेत सरकारले बेहोर्नेछ।

बैठकले घाइतेहरूको नि:शूल्क उपचार निरन्तर गर्ने निर्णय गरेको छ। साथै, आन्दोलनका क्रममा दमन भएको आरोपबारे छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि भएको मन्त्री अर्यालले बताए।

सरकारले ज्यान गुमाएका जेनजी युवाको स्मृतिमा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने र त्यसका लागि स्थान खोजी गर्ने तयारी थालेको छ।

Facebook Comments Box