सिरहामा लुटिएका चामल–चिनी फिर्ता हुन थाल्यो

सिरहा, ३० भदौ – जेनजी आन्दोलनका क्रममा सिरहाको लहान–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटपाट गरिएको खाद्यान्न प्रशासनको कडा निर्देशनपछि फिर्ता हुन थालेको छ। इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत सन्तोष रायका अनुसार, सिसिटिभी र सामाजिक सञ्जालमा रहेका दृश्यका आधारमा कानुनी कारबाही गर्ने चेतावनीपछि चामल र चिनी क्रमशः फिर्ता हुन थालेका हुन्।

स्थानीय युवाहरूको सक्रियतामा केही व्यक्तिले आफैं आएर, केहीले माध्यममार्फत आइतबार सामान बुझाइदिएका छन्। खाद्य कम्पनी लहान शाखाका सूचना अधिकारी अनिलकुमार महतोका अनुसार आइतबार बेलुकीसम्म ७१ क्विन्टल चामल र १८ क्विन्टल चिनी फिर्ता भएको छ। नाम गोप्य राखिए पनि फिर्ता गर्नेको प्रतिष्ठा जोगाइएको उनले बताए।

गोदाममा जम्मा ८,१४८ क्विन्टल चामल, ३,२२० क्विन्टल चिनी, ५३ क्विन्टल २१ किलो धान र करिब एक लाख जुटका बोरा लुटिएको थियो, जसको अनुमानित मूल्य करिब रु १० करोड ९१ लाख बराबर हुने महतोले जानकारी दिए।

लुटपाटको क्रममा कार्यालय परिसरमा रहेका सवारीसाधनमा आगजनी भएको थियो भने क्वार्टरबाट ल्यापटप, ग्यास सिलिन्डर र मोबाइलसमेत लुटिएको छ। यसअघि पनि मधेस आन्दोलनलगायतका बेला लहानको खाद्य गोदाम पटक–पटक लुटिँदै आएको स्थानीयले बताएका छन्।

Facebook Comments Box