कैलालीमा जेनजी आन्दोलनको ठूलो क्षति, १०८ सरकारी कार्यालय र ६०० सवारीसाधन जले

धनगढी, २९ भदौ – भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कैलालीमा रहेका सरकारी संरचनामा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। प्रदेशको अस्थायी राजधानी धनगढीसहित अत्तरिया, घोडाघोडी, लम्कीचुहा र टीकापुर क्षेत्रमा रहेका नेपाल टेलिकम, विद्युत, स्वास्थ्य, सेती प्रादेशिक अस्पताल र धनगढी उपमहानगरपालिकाबाहेकका प्रायः सबै सरकारी कार्यालयमा तोडफोड र आगजनी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार हालसम्मको विवरणअनुसार १०८ सरकारी कार्यालय भवन, करिब १०० वटा चार पाङ्ग्रे सवारीसाधन र ५०० भन्दा बढी मोटरसाइकल जलेका छन्। जोशीले ८–९ पार्टी कार्यालय र नेताका निजी घरमा समेत आगजनी भएको जानकारी दिए। उनका अनुसार अझै पनि क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा समेत आगजनी गरेपछि सेवा प्रवाह अवरुद्ध भएको थियो। शनिबार सरसफाइ सम्पन्न गरेसँगै आइतबारदेखि टेन्ट गाडेर भए पनि अत्यावश्यक सेवा उपलब्ध गराउने तयारी गरिएको प्रशासनले जनाएको छ।

आगजनीका कारण कैलाली जिल्ला अदालत, मालपोत, नापीसहित प्रदेश सरकार अन्तर्गतका प्रायः सबै निकायको कामकाज रोकिएको छ। अवस्था सामान्य बन्दै जाँदा वैकल्पिक उपायमार्फत सेवा सुरु गर्ने तयारी अन्य कार्यालयले पनि थालेका छन्।

Facebook Comments Box