आज बाल दिवस : राष्ट्रपति पौडेलद्वारा शुभकामना
काठमाडौँ, २९ भदौ – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा नेपाली बालबालिका, अभिभावक तथा सरोकारवालामा शुभकामना व्यक्त गर्नुभएको छ। नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते बाल दिवस मनाउने परम्परा रहेको छ। यस वर्षको बाल दिवसको नारा “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” तय गरिएको छ।
सन्देशमा राष्ट्रपति पौडेलले शिक्षा, स्वास्थ्य, सुरक्षा र विकासमा विशेष ध्यान दिनुपर्ने र बालबालिकाको हितलाई प्राथमिकतामा राखेर सरकार, नागरिक समाज, अभिभावक, विद्यालय तथा सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ।
उहाँले अझै पनि केही बालबालिका अधिकारबाट वञ्चित रहेको तथ्यप्रति चिन्ता व्यक्त गर्दै अमानवीय व्यवहार, हिंसा तथा दुव्र्यवहार अन्त्य गर्न आह्वान गर्नुभएको छ। साथै, बालबालिकाको भविष्य सुरक्षित बनाउन गुणस्तरीय शिक्षा, पोषणयुक्त आहार, सुरक्षित खानेपानी, खोप, बालमैत्री स्वास्थ्य सेवा र समान अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रपति पौडेलले बालबालिकाको संरक्षण, विकास र सहभागितामा सबै पक्षले योगदान पुर्याउने अपेक्षा व्यक्त गर्नुभएको छ।


