स्वास्थ्य मन्त्रालय ध्वस्त, अस्थायी व्यवस्थापनका लागि नयाँ ठाउँ खोजिँदै
काठमाडौँ, २८ भदौ – जेनजी आन्दोलनका क्रममा लागेको आगलागीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पूर्ण रूपमा नष्ट भएको छ। रामशाहपथस्थित मन्त्रालयको चारतले भवन, फर्निचर, महत्वपूर्ण कागजात, कम्प्युटरदेखि सवारीसाधनसम्म सबै खरानी भएका छन्।
भवन नष्ट भएपछि मन्त्रालयको दैनिक कामकारबाहीमा ठूलो असर परेको छ। हाल मन्त्रालयले क्षतिको विवरण संकलन र मुचुल्का उठाउने कार्य अघि बढाइरहेको छ।
मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार हालसम्मको प्राथमिकता आन्दोलनमा घाइते भएका व्यक्तिहरूको उपचार र अस्पतालहरूलाई आवश्यक सामग्री उपलब्ध गराउनेतर्फ केन्द्रित छ। “भवनका सबै कोठा र सरसामान जलेर नष्ट भएका छन्, कुनै पनि स्थानान्तरण गर्न सकिने अवस्था छैन,” सचिव देवकोटाले बताए।
अस्थायी व्यवस्थापनका लागि मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को भवनमा भोलिदेखि आंशिक रूपमा काम सुरु गर्ने योजना बनाएको छ।
सो भवन सामान्य तोडफोड भए पनि आगलागीबाट जोगिएको छ। सिंहदरबारमा उपयुक्त ठाउँ पाएपछि मन्त्रालय स्थानान्तरण गर्ने विचार भइरहेको सचिव देवकोटाले जानकारी दिए।
अन्तरिम सरकारका प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले पदभार ग्रहण गरिसकेकी छन् भने मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको छ। मन्त्री नियुक्त भएपछि कार्यकक्षका लागि एनएचआरसीमा एक कोठा तयार गरिएको छ। सचिव देवकोटाले भने, “हामी कर्मचारीहरू हलमा बसेर काम गर्छौं, मन्त्रीका लागि छुट्टै कोठा तयार गरेका छौं।”
स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ भने हाल वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ। सचिव देवकोटाका अनुसार मन्त्रालयका आवश्यक कागजातहरू इमेलबाट प्रिन्ट गरी काम चलाइने र नयाँ नेतृत्व आएपछि मार्गनिर्देशनअनुसार थप व्यवस्था मिलाइनेछ।

