उपत्यकामा निषेधाज्ञा र कर्फ्यु आंशिक खुकुलो

काठमाडौँ, २७ भदौ – नेपाली सेनाले काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु आंशिक खुकुलो पारेको छ। जङ्गी अड्डा जनसम्पर्क निर्देशनालयले शुक्रबार जारी गरेको सूचनाअनुसार बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि आवतजावत गर्न पाइनेछ।

तर, आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म र बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यु यथावत रहनेछ। निषेधाज्ञा र कर्फ्यु अवधिमा पनि एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, ग्यास, इन्धन, दूध, तरकारी, पानी तथा औषधि ढुवानी गर्ने सवारीसाधन सञ्चालनमा रोक लाग्ने छैन।

त्यस्तै, सरकारी कार्यालय, मानव अधिकार आयोग, बैंक तथा वित्तीय संस्था लगायत सार्वजनिक संस्थानका कर्मचारीले परिचयपत्र देखाएर कार्यालय आवतजावत गर्न पाउनेछन्। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुले भने टिकट देखाएर विमानस्थल जान सक्ने व्यवस्था गरिएको छ।

Facebook Comments Box