फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल तीन महिनादेखि सुनसान
इलाम, २२ भदौ – पूर्वी पहाडी क्षेत्रको यात्रु र पर्यटन प्रवर्द्धनमा योगदान गर्ने अपेक्षासहित निर्माण गरिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल तीन महिनादेखि पूर्णरूपमा बन्दजस्तै बनेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भएको यो विमानस्थलमा गत जेठ १४ यता कुनै उडान भएको छैन ।
विसं २०७५ जेठ २१ मा तारा एयरले पहिलो परीक्षण उडान सफल गरेपछि स्थानीयवासीले नियमित हवाई सेवाको आश गरेका थिए । त्यसपछि नेपाल एयरलाइन्सले पनि २०७८ माघमा परीक्षण उडान गरेको थियो । प्रारम्भमा तारा एयरले साप्ताहिक दुई दिन उडान भरे पनि नगरपालिकासँगको सम्झौता सकिएपछि नियमितता कायम हुन सकेन । नेपाल एयरलाइन्सले पनि पछिल्लो पटक गत जेठदेखि मौसमलाई कारण देखाउँदै उडान रोकेको इलामस्थित स्टेशन इन्चार्ज दिनेश सुन्दासले जानकारी दिनुभयो ।
इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काका अनुसार सुरुआतमा नगरपालिकाले सिट खाली हुँदा भाडा पुर्ताल गर्ने सर्तमा तारा एयर र नेपाल एयरलाइन्ससँग सम्झौता गरेको थियो । तर पछिल्ला वर्षमा नयाँ सम्झौता नभएकाले स्थानीय तहको दायित्व नरहेको उहाँले बताउनुभयो ।
स्थानीय वडाध्यक्ष गोपाल चौहानले विमानस्थल सञ्चालनलाई प्राथमिकतामा राखी नगर कार्यपालिकाले पटक–पटक छलफल गरे पनि प्राविधिक कारण, मौसम र विमान बिग्रनेजस्ता समस्या दोहोरिइरहेकाले स्थायी समाधान नआएको बताउनुभयो ।
करिब ३२८ रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलको धावनमार्ग ६७० मिटर लामो र २० मिटर चौडाइमा कालोपत्र गरिएको छ । तर स्थायी टर्मिनल भवन, पहुँचमार्ग, तारबारलगायतका संरचना अझै अपूरा छन् । अहिलेसम्म स्थानीयको करिब रु चार करोडसहित कुल रु २८ करोडभन्दा बढी खर्च भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विसं २०६७ चैतमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गर्नुभएको विमानस्थल २०७८ साल फागुन १ गते औपचारिक उद्घाटन भए पनि अझै नियमित हवाई सेवामा जोडिन सकेको छैन ।

