आज उपत्यकाभर इन्द्रजात्रा पर्व मनाइँदै
काठमाडौँ, २१ भदौ – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गर्दै आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा परम्परागत इन्द्रजात्रा पर्व मनाइँदैछ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा धार्मिक विधिपूर्वक इन्द्रध्वजा (लिङ्गो) ठड्याएपछि सुरु हुने यो पर्व आठ दिनसम्म नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजासहित मनाइने परम्परा छ ।
आजको दिन हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा रहेको छ । राजतन्त्र रहँदा राजाले, अहिले भने राष्ट्रपति उपस्थित भई रथयात्रा दर्शन गर्ने परम्परा रहेको छ ।
जात्राभर विभिन्न धार्मिक तथा सांस्कृतिक नृत्य प्रदर्शन हुने गर्दछन् । भक्कु नाच, महाकालीनाच, लाखेनाच, दशअवतार नाच र ऐरावत हात्तीको प्रतीक पुलुकिसी नाच यस पर्वका मुख्य आकर्षण हुन् ।धर्मशास्त्रविद्हरूका अनुसार विजयको प्रतीकका रूपमा मनाइने यो पर्वमा इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गर्ने विश्वास रहेको छ । भरणी नक्षत्रको रातमा लिङ्गो फालेर (पातन गरी) जात्रा समापन गर्ने धार्मिक विधान रहेको बताइन्छ ।
यस अवसरमा उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा पनि भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । भाद्र शुक्ल पूर्णिमासम्म जाग्राम बसेर स्नान तथा मेलामा सहभागी हुने परम्परा छ । यसै दिन अनन्त चतुर्दशीका अवसरमा भगवान् विष्णुको पूजा आराधना र अनन्त व्रतसमेत गरिन्छ । चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्दा वर्षभर शुभ हुने विश्वास रहेको छ ।

