भोजपुर–दिङ्ला सडक कालोपत्र सुरु
भोजपुर, २१ भदौ – भोजपुर सदरमुकामलाई उत्तरी क्षेत्रसँग जोड्ने ३३.५ किलोमिटर लम्बाइको भोजपुर–दिङ्ला सडक कालोपत्र गर्न थालिएको छ। करिब रु १ अर्ब २२ करोड लागतमा कोशी प्रदेश सरकारको बजेटमा दुई खण्डमा कालोपत्रको काम अघि बढाइएको हो।
पहिलो खण्डमा भोजपुर–दिङ्ला तीनतले १७.५ किलोमिटर सडक रु ५८ करोड ४० लाख लागतमा कालोपत्र भइरहेको छ। विसं २०८० मङ्सिरमा सम्झौता भएको यो सडक २०८२ मङ्सिरसम्म सम्पन्न गर्ने लक्ष्य छ। हाल यस खण्डको भौतिक प्रगति ४५ प्रतिशत पुगेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ।
दोस्रो खण्डमा भोजपुर–दिङ्ला–तीनतले–दिङ्ला १६ किलोमिटर सडक रु ६३ करोड ९२ लाख लागतमा निर्माण भइरहेको छ। विसं २०८० पुसमा सम्झौता भएको यस खण्डको काम २०८२ पुसभित्र सम्पन्न गर्ने लक्ष्य छ भने हालसम्म २० प्रतिशत मात्र प्रगति भएको छ। दुबै खण्डको कालोपत्र आस्फाल्ट प्रविधिबाट हुनेछ।
पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीका अनुसार, “यो सदरमुकामलाई उत्तरी क्षेत्रसँग जोड्ने महत्वपूर्ण सडक भएकाले प्राथमिकताका साथ काम अघि बढाइएको छ।” सडक निर्माणको प्रगति देखेपछि स्थानीयवासी उत्साहित बनेका छन्।
षडानन्द–१० का निमा शेर्पाले सडक कालोपत्र भएपछि कृषि उपजको बजारिकरण सजिलो हुने र वर्षातमा सङ्खुवासभा जिल्ला घुमेर सदरमुकाम आउनुपर्ने बाध्यता हट्ने बताए। त्यस्तै, षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले पनि कालोपत्रले उत्तरी क्षेत्रका नागरिकलाई ठूलो सहजता दिने बताए। उनले भने, “काम गुणस्तरीय र समयमा सम्पन्न गर्न नगरले आवश्यक सहयोग गरिरहेको छ।”

