फेसबुक सञ्चालक मेटाले नेपालसँग दर्ताका कागजात विवरण माग्यो

काठमाडौँ, १९ भदौ – नेपाल सरकारले सामाजिक सञ्जाल दर्ता अनिवार्य गर्ने निर्णय गरेलगत्तै फेसबुकको मातृ कम्पनी मेटाले दर्ताका लागि आवश्यक कागजात विवरण मागेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले आज साँझ मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गर्दै दर्ता प्रक्रियाबारे जानकारी लिएका हुन्।

“पौने ५ बजे मेटाका प्रतिनिधिले मन्त्रीज्यूका विज्ञ सल्लाहकारलाई इमेल गरेर आवश्यक कागजातको विवरण माग्नुभएको रहेछ,” प्रवक्ता ठाकुरले बताए, “हामीले ५ मिनेटमै दर्ताका लागि चाहिने कागजातको विवरण पठाइसकेका छौँ।”

सरकारले तोकिएको अवधिभित्र सूचीकरणमा नआएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गर्ने निर्णय गरिसकेको छ। यसै क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई २६ वटा सामाजिक सञ्जाल सञ्चालन रोक्न पत्राचार गरिसकेको छ।

सामाजिक सञ्जाल दर्ता प्रक्रिया सुरु भएसँगै अहिले नेपालभित्र यसको प्रभाव र आगामी अवस्थाप्रति चासो र तरंग फैलिएको छ।

Facebook Comments Box