सूचीकृत हुन नआएका सामाजिक सञ्जाल आजबाटै निष्क्रिय : मन्त्री गुरुङ

काठमाडौँ, १९ भदौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सूचीकृत हुन नआएका सामाजिक सञ्जाल आजैदेखि निष्क्रिय हुने बताएका छन्।

मन्त्रालयमा आज पत्रकारहरूसँग कुरा गर्दै मन्त्री गुरुङले सूचीकृत हुन नआएका सबै सामाजिक सञ्जाललाई नेपाल दूरसञ्चार प्राधिकरणमार्फत निष्क्रिय गराउन निर्देशन दिइसकिएको जानकारी दिए।

सर्वोच्च अदालतको आदेशअनुसार सरकारले गत भदौ ९ गते सामाजिक सञ्जाललाई सूचीकरणका लागि ७ दिनको म्याद दिँदै आव्हान गरेको थियो। तर तोकिएको समयभित्र कुनै पनि सामाजिक सञ्जाल सूचीकरणका लागि नआएपछि आजदेखि निष्क्रिय गराउने तयारी भएको हो।

मन्त्री गुरुङले करिब २५ वटा सामाजिक सञ्जाल दर्ता हुनुपर्ने भए पनि अहिलेसम्म कुनै पनि संस्था दर्ता हुन नआएको बताए। “सात दिनभित्र दर्ता गर्न आउनु भनेका थियौँ, त्यो मिति आजसम्म थियो। आजकै मितिदेखि सामाजिक सञ्जाल निष्क्रिय गराउँछौँ,” उनले भने।

उनका अनुसार सूचीकरण भएपछि सामाजिक सञ्जाललाई पुनःसक्रिय गराइनेछ। सूचीकरणका लागि कुनै शुल्क नलाग्ने प्रष्ट पार्दै उनले भने, “मुलुकमा कर तिरेको छ कि छैन भनेर सूचीकृत गर्न खोजेको होइन, सामाजिक सञ्जालका कारण भएको अपराधीकरण र सामाजिक–सांस्कृतिक क्षेत्रमा खलल पुर्‍याउने प्रवृत्तिलाई रोक्नका लागि मात्रै यो प्रक्रिया हो।”

Facebook Comments Box