मानव बेचबिखन र ओसारपसारका घटना बढ्दै, पीडितको उद्धारमा तीन हजारभन्दा बढी

काठमाडौँ, १९ भदौ – नेपालमा मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै गएको सरकारी प्रतिवेदनले देखाएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सार्वजनिक गरेको ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय प्रतिवेदन–२०८१’ अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपाल प्रहरीले १२७ जना पीडितलाई स्वदेश तथा विदेशका विभिन्न स्थानबाट उद्धार गरेको छ।

दश जिल्लामा सञ्चालित पुनःस्थापना केन्द्रमार्फत ७५८ र विभिन्न सङ्घ–संस्थामार्फत दुई हजार ७३२ गरी जम्मा तीन हजार ४९० जनाको उद्धार र पुनःस्थापना भएको छ। त्यस्तै, नेपाल–भारत सीमा नाकालगायतका चेक प्वाइन्टमा सञ्चालित सूचना केन्द्रहरूले सीमा सुरक्षा निकायसँगको सहकार्यमा चार हजार ३०० जनालाई प्रारम्भिक रूपमा जोखिममा रहेको ठहर गर्दै उद्धार गरेका छन्।

उद्धारमध्ये ६४.३ प्रतिशत महिला, ३३.४ प्रतिशत बालिका, ०.४ प्रतिशत पुरुष र १.९ प्रतिशत बालक रहेका मन्त्रालयले जनाएको छ। प्रवक्ता चक्रबहादुर बुढाका अनुसार ती सूचना केन्द्रहरूले कुल ७७ हजार ५०० जनालाई मानव बेचबिखनविरुद्ध परामर्श सेवा उपलब्ध गराएका छन्।

गत आर्थिक वर्षमै १७ बालिका बेचबिखनमा र ४६ बालिका अपहरणमा परेका छन्। त्यस्तै, देशभर ६ हजार ५९० बालबालिका हराएका थिए, जसमा ७२ प्रतिशत बालिका र २८ प्रतिशत बालक रहेका थिए। खोजतलासपछि करिब ५८.३ प्रतिशत बालबालिका फेला पारेर पारिवारिक पुनर्मिलन गरिएको प्रतिवेदनमा उल्लेख छ।

मन्त्रालयले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति तथा कार्ययोजनाको मस्यौदा तयार गरी सङ्घ, प्रदेश र स्थानीय तहका सरोकारवाला निकायसँग छलफल भइरहेको जनाएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ७५३ स्थानीय तहमा करिब २४ हजार साझेदारी समिति गठन गरिएको छ।

ती समितिहरूले महिला हिंसा, साइबर अपराध, जबर्जस्ती करणी, बालविवाह, बहुविवाह, दाइजो प्रथा, लागूऔषध दुरुपयोगलगायतका विषयमा सचेतना अभिवृद्धि गर्दै आएका छन्। यस्तै, विद्यालय सम्पर्क, खेलकुद, आगलागी न्यूनीकरण र सामाजिक अपराध नियन्त्रणका कार्यक्रम पनि सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ।

Facebook Comments Box