सौराहामा हुर्किँदै ‘राम’ र ‘देव’
चितवन, १९ भदौ – चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रमा दुई गैँडाका बच्चा ‘राम’ र ‘देव’ हुर्काइँदै छन्। उनीहरूलाई गत वर्ष बाघको आक्रमणबाट घाइते अवस्थामा उद्धार गरिएको थियो। ‘देव’ लाई २०८० जेठ ३० गते भरतपुरको देवनगरबाट उद्धार गर्दा चारै खुट्टाका हड्डी भाँचिएका थिए भने ‘राम’ लाई २०८० असार १ गते सौराहाको बाघमाराबाट ल्याउँदा देब्रे खुट्टा टुटेको थियो।
उद्धारका बेला उनीहरू केवल १५–२० दिनका थिए। वरिष्ठ संरक्षण अधिकृत अनिल प्रसाईंका अनुसार अहिले दुबैको स्वास्थ्यमा सुधार भएको छ। “हामीले अत्यन्त नाजुक अवस्थामा भेटेका ती बच्चा बिस्तारै तन्दुरुस्त बन्दै गएका छन्,” प्रसाईंले भने।
डा. अमिर सडौलाका अनुसार यहाँ ल्याइने करिब ७० प्रतिशत बच्चा गैँडा बाघको आक्रमणमा परेका हुन्छन्। सुरुवाती चरणमा ल्याक्टोजिन दूध खुवाइने र पछि मकैको कुँडोसहित अन्य आहार दिने गरिन्छ। गत चार दशकमा कोषले २० वटा गैँडाका बच्चा उद्धार गरेकोमा १३ जीवित छन्।
तीमध्ये केहीलाई प्राकृतिक जंगलमा पुनःस्थापित गरिएको र केहीलाई चिडियाखाना तथा अन्य देशमा उपहारस्वरूप पठाइएको छ। हाल दुई वर्ष नाघेका राम र देवलाई प्राकृतिक वातावरणसँग घुलमिल हुने अभ्यास गराइँदैछ। उनीहरू निकुञ्ज र सौराह नजिकै घुम्ने भएकाले पर्यटकलाई आकर्षित गरिरहेका छन्।

