जलवायु परिवर्तनका असर : शुक्लाफाँटा निकुञ्जका ताल सुक्दै

कञ्चनपुर, १८ भदौ  – जलवायु परिवर्तन, जलकुम्भी र झारपातको तीव्र फैलावटका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका तालहरू क्रमशः सुक्न र पुरिन थालेका छन् । पर्याप्त बजेट नहुँदा संरक्षण कार्यमा थप चुनौती उत्पन्न भएको निकुञ्ज प्रशासनले जनाएको छ।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार रानीताल, सिकारी ताल, बाबाताल, कालीताल, ताराताल र सालगौडी ताललगायतका ठूला प्राकृतिक तालमा जलकुम्भी र झारपात फैलिन थालेका छन् भने पानी सुकेर संकुचित हुने क्रम बढेको छ। यी ताल वन्यजन्तुका लागि महत्वपूर्ण जलस्रोतका रूपमा रहेका छन्। “निकुञ्जसँग पुँजीगत बजेटमा जम्मा रु ३४ लाख छ।

त्यसमध्ये पर्यटनकपथ निर्माण र अन्य पर्यटकीय पूर्वाधारमा समेत खर्च गर्नुपर्ने भएकाले ताल संरक्षणमा पर्याप्त स्रोत छुट्याउन कठिन भएको छ,” वाग्लेले बताए। निकुञ्ज क्षेत्रमा प्राकृतिक तालसँगै करिब ४० वटा कृत्रिम ताल पनि रहेका छन्। शुक्लाफाँटा जैविक विविधताले भरिपूर्ण स्थल भएकाले यो स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छ। सिमसार क्षेत्रको संरक्षणका लागि पर्याप्त बजेट विनियोजन आवश्यक रहेकोमा अधिकारी वाग्लेले जोड दिएका छन्।

Facebook Comments Box