महाकाली नदीको कटानले कञ्चनपुरको बस्ती जोखिममा
कञ्चनपुर, १७ भदौ – महाकाली नदीको निरन्तर कटानले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर बस्ती जोखिममा परेको छ। पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको यो बस्ती दक्षिणतर्फ भारतसँग जोडिएको छ। स्थानीयका अनुसार महाकालीको कटानले अहिलेसम्म दुई बिघाभन्दा बढी जमिन नदीमा बगाइसकेको छ।
स्थानीय टेकबहादुर सुनारका अनुसार पटक–पटक आग्रह गरे पनि सरकारले तटबन्ध निर्माण नगरेका कारण बस्ती साघुँरिदै गएको छ। “नदी बस्ती नजिक पुगिसकेको छ। खेतीयोग्य जमिन बर्सेनि कटान हुँदै आएको छ। अब त बस्ती नै नदीमा समाहित हुने चिन्ता छ,” उहाँले भन्नुभयो।
विसं २०२२ मा बसोबास सुरु भएको कुतियाकवरमा १५० परिवार रहेका मध्ये हाल १०० परिवार कटान र डुबानका कारण विस्थापित भइसकेका छन्। विसं २०७४ मा जोगबुढा नदीमा बनेको झोलुङ्गे पुलले स्थानीयलाई नगरसँग जोडेर केही सहजता दिएको थियो।
“२०७८ सालको बाढीले गाईभैंसीदेखि अन्नसम्म सबै बगायो,” स्थानीय खडक बुढाले दुखेसो पोख्नुभयो। उहाँका अनुसार जोगबुढा नदीमा तटबन्ध निर्माण सुरु भए पनि अधूरो कामका कारण कटान रोकिएको छैन। नगरप्रमुख किशोर लिम्बूका अनुसार बस्ती सुरक्षित राख्न दुई वटा ‘सेफहाउस’ निर्माण गरिएको छ। साथै, नदी कटान रोक्न ग्राभेल हाल्ने काम भइरहेको छ। “मानवीय क्षति हुन नदिन पालिकाले संयन्त्र बनाएर काम गरिरहेको छ,” उहाँले भन्नुभयो।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयमार्फत जोगबुढा नदीमा ८१६ मिटर लामो तटबन्ध निर्माण सुरु गरिएको छ। रु पाँच करोड १६ लाख ६७ हजार लागतको यो आयोजना शङ्कर कन्स्ट्रक्सनले आगामी चैत २५ भित्र सम्पन्न गर्ने सम्झौता गरेको छ।
नगरप्रमुख लिम्बूका अनुसार करिब ५० बिघा क्षेत्रफलमा फैलिएको कुतियाकवर बस्ती निरन्तर कटानले संकुचित हुँदै गएको छ। कटानकै कारण सीमास्तम्भ नं २२ हराएको र सो स्थान हुँदै अहिले महाकाली बगिरहेको पनि उहाँले जानकारी दिनुभयो।

