सप्तकोसीमा पानीको बहाव बढ्दा ३८ ढोका खोलियो

सुनसरी, १७ भदौ – सप्तकोसी नदीमा पानीको सतह तीव्र गतिमा बढ्दै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको छ। लगातारको वर्षाले नदीमा बहाव उच्च भएपछि जोखिम न्यूनीकरणका लागि ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो।

बेलुकी १० बजे गरिएको मापनअनुसार ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख ७३ हजार ९२५ क्युसेक पुगेको छ। दिउँसो ४ बजे मात्र दुई लाख ५६ हजार १० क्युसेक प्रवाह हुँदा ३४ ढोका खोलिएको थियो। प्रवक्ता खतिवडाका अनुसार ब्यारेजमा हाल रातो बत्ती बालिएको छ। एक लाख ५० हजार क्युसेकभन्दा बढी बहाव हुँदा खतराको संकेतका रूपमा रातो बत्ती बालिन्छ।

यसले स्थानीयवासी र सरोकारवालालाई सतर्क रहन आग्रह गर्ने संकेत गर्ने गर्दछ। हाललाई प्रत्यक्ष डुबानको जोखिम नरहे पनि निरन्तर वर्षाले जलसतह बढ्दै गएकाले सप्तकोसी आसपासका बासिन्दालाई सतर्क रहन तथा जोखिमपूर्ण क्षेत्रमा नजान अनुरोध गरिएको छ।

Facebook Comments Box