ललितपुर महानगर प्रमुख महर्जन ‘एक्सिलेन्स अर्बन गभर्नेन्स अवार्ड’बाट सम्मानित
ललितपुर, १७ भदौ – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन ‘एक्सिलेन्स अर्बन गभर्नेन्स अवार्ड’बाट सम्मानित भएका छन् । सिजन मिडियाको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा आधुनिक विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्दै ललितपुरलाई बस्नयोग्य सम्पदामैत्री सहरका रूपमा विकास गर्न योगदान पुर्याएको भन्दै महर्जनलाई पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवार्ड प्रदान गरेका हुन् ।
सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तका अनुसार महर्जनले दुई कार्यकाल महानगर प्रमुखको भूमिका निर्वाह गर्दै नेपालका ७५३ स्थानीय तहका प्रमुखमध्ये समर्पित, प्रतिबद्ध र इमानदार नेतृत्वका रूपमा आफूलाई स्थापित गरेका छन् ।सन् १९५७ डिसेम्बर १ मा ललितपुरको पुल्चोकमा जन्मिएका महर्जनले बाल्यकालमा पिताको निधनपछि सामुदायिक सहयोगमा शिक्षा हासिल गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर गरेका उनले राजनीतिक यात्रा ललितपुर नगरपञ्चायतको वडाध्यक्षबाट सुरु गरेका थिए । तीनपटक वडाध्यक्ष र दुईपटक नगरप्रमुखका रूपमा निर्वाचित भएका महर्जन नेपाली कांग्रेससँग आबद्ध छन् ।
उनले ललितपुरमा मुलुककै पहिलो साइकल लेन, स्मार्ट सडक बत्ती, आधुनिक फोहर व्यवस्थापन, बीउ वितरण मेसिन, खानेपानी वितरण मेसिनलगायत सार्वजनिक सेवामैत्री कार्यक्रम सुरु गरेर दिगोपन र समावेशितालाई व्यवहारमा उतारेका छन् । साथै, निःशुल्क पूर्वप्राथमिक शिक्षा, हरित क्षेत्र विस्तार, शुद्ध पानीको पहुँच, वृक्षारोपण, अन्तर्राष्ट्रिय सहकार्यमार्फत सम्पदा संरक्षण र सांस्कृतिक आदानप्रदानलाई अगाडि बढाएका छन् ।
सोही अवसरमा बालकृष्ण श्रेष्ठ, राजेन्द्र मल्ल, डा. बसन्त पन्त, ज्योत्स्ना श्रेष्ठ, मनोज ज्ञवाली, सुसन कर्माचार्य, सन्तोष प्रसाईं, मिलनबहादुर मल्ल, सिवानी थापा बस्न्यात, सुशील अर्याल, कमला गिरी, शेरबहादुर विसी, डिल्लीराम पंगेनी, शिव परियारलगायतलाई विभिन्न विधामा सम्मानित गरिएको थियो । त्यस्तै चीन, कम्बोडिया, बङ्गलादेश, मलेसिया, भुटान र थाइल्यान्डका प्रतिष्ठित व्यक्तित्वलाई समेत विभिन्न अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको आयोजकले जनाएको छ ।

