कालीगण्डकी नदीबाट अवैध उत्खनन गरिएको बालुवा जफत

बागलुङ, १७ भदौ = कालीगण्डकी नदीबाट अवैध उत्खनन गरी निकालिएको बालुवा जफत गरिएको छ । जिल्ला समन्वय समितिको सक्रियतामा नियन्त्रणमा लिइएको बालुवा बागलुङ नगरपालिकालाई कारबाहीका लागि पठाइएको हो ।

बागलुङ नगरपालिका–१० दब्ल्याङ र नगरकै भाटेखोला बगर क्षेत्रबाट अवैध रूपमा सङ्कलन गरिएको करिब चार हजार ९७२ घनमिटर बालुवा जफत गरिएको हो । नगरपालिकाले सम्बन्धित व्यक्तिलाई जरिवाना गरी करिब १५ लाख रुपैयाँ राजस्व असुल गरेको राजस्व शाखा प्रमुख सरस्वती रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कारबाहीमा क्रसर व्यवसायी र नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्नहरू परेका छन् ।

गत असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन गर्न कानुनी रूपमा प्रतिबन्ध भए पनि राति चोरी–छिपी उत्खनन भइरहेको पाइएपछि जफत गरिएको हो । जफत सामग्री नगरपालिकाले राजस्वमा परिणत गरेको रेग्मीले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले अवैध उत्खननले राज्यलाई राजस्व छली हुने र नदीजन्य स्रोतमा दबाब पर्ने भन्दै कडाइका साथ कारबाही अघि बढाइने चेतावनी दिनुभयो । “कालीगण्डकीबाट अहिले बालुवा निकाल्न पाइँदैन, ठेक्का पद्धतिबाट मात्र अनुमति हुन्छ । तर मध्यरातमा चोरी उत्खनन भइरहेको छ । हामीले जफत सामग्रीका आधारमा जरिवाना गर्न थालेका छौँ । यो अभियान बागलुङ नगरपालिकामा मात्र होइन, जिल्लाभर सञ्चालन हुनेछ,” प्रमुख थापाले बताउनुभयो ।

Facebook Comments Box