वैशाखयता ३,२८१ विपद्का घटना, २०७ जनाको मृत्यु

काठमाडौँ, १५ भदौ – चालु आर्थिक वर्षको वैशाखदेखि भदौ १४ गतेसम्म देशभर ३,२८१ विपद्का घटना घटेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परेर २०७ जनाले ज्यान गुमाएका छन् भने २२ जना बेपत्ता र ७७४ जना घाइते भएका छन्। सो अवधिमा ५,९६३ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।

सबैभन्दा धेरै आगलागीका घटना भएका छन्। देशभर १,१९७ आगलागी हुँदा १५ जनाको मृत्यु र १६५ जना घाइते भएका प्राधिकरणले जनाएको छ। त्यस्तै, बाढीका २४३ घटनामा २७ जनाको मृत्यु, २२ जना बेपत्ता र १,७७८ परिवार प्रभावित भएका छन्।

यस अवधिमा ३६८ पहिरो जाँदा १८ जनाले ज्यान गुमाएका छन् भने २८ जना घाइते भएका छन्। पहिरोबाट ४८१ परिवार विस्थापित भएका छन्। २६६ भारी वर्षाका घटनामा ६ जनाको मृत्यु, १२ घाइते र ११ परिवार प्रभावित भएका छन्। यस्तै, २५८ चट्याङका घटनामा ३१ जनाको मृत्यु, १९३ जना घाइते र ३१७ घरपरिवार प्रभावित भएका छन्। सर्पदंशका २६८ घटनामा ७२ जनाको मृत्यु र २०२ जना घाइते भएका छन्।

त्यसैगरी, वन डढेलोका १५८ घटनामा दुई जना घाइते भएका छन् भने २७ परिवार प्रभावित भएका छन्। हुरीबतासका २८० घटनामा ८ जनाको मृत्यु, ४१ घाइते र ५३६ परिवार प्रभावित भएका छन्।प्राधिकरणका अनुसार जनावर आक्रमणका घटनामा १५ जनाले ज्यान गुमाएका छन्।

यस्तै, सो अवधिमा लेक लाग्नुका ४९, भूकम्पका ५, डुङ्गा पल्टिने २, असिना र महामारीका एक–एक घटना दर्ता भएका छन्। प्राधिकरणले विपद्का घटनामा मानवीय तथा भौतिक क्षति बढिरहेको भन्दै आवश्यक सतर्कता र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।

Facebook Comments Box