सुदूरपश्चिममा गौरापर्वको मुख्य दिन अठ्यावाली आज मनाइँदै
बैतडी, १५ भदौ – सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आज गौरापर्वको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावाली धुमधामका साथ मनाइँदैछ। बैतडीसहित प्रदेशका थुप्रै स्थानमा हिजो गौराघरमा भित्र्याइएको गौरालाई आज बिहानैदेखि महिलाहरूले गौराखला (मन्दिरको आँगन)मा पूजाआजा गर्न लगिएको हो।
पण्डित जयानन्द भट्टका अनुसार बर्तालु महिलाले बिरुडाले दिनभर फाग गाई गौरादेवीको पूजा गर्ने परम्परा रहिआएको छ। हिजो गौरामा चढाइएको दुबधागो आज महिलाहरूले धारण गर्छन्। तागाधारी पुरुषले जनै धारण गरेजस्तै सुदूरपश्चिमेली महिलाले यस दिन अभिमन्त्रित दुबधागो धारण गर्ने गर्दछन्।
गौरालाई सिङ्गारेर गौराखलामा लगिने र त्यहाँ सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने परम्परा छ। गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायतका प्रसङ्ग महिलाले फागमार्फत गाउने गर्छन्। पूजन सकिएपछि बिरुडा मुख्य प्रसादका रूपमा ग्रहण गरिन्छ, जसलाई महिलाले श्रीमान्, छोराछोरी तथा आफन्तको चिरायुका लागि टाउकोमा पुज्ने परम्परा छ। यस अवसरमा पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीजस्ता परम्परागत खेल खेल्ने गर्दछन्।
आचार्य विष्णुदत्त भट्टका अनुसार महिलाले अटल सौभाग्य, परिवारमा सुख–शान्ति, समृद्धि र सन्तानलाभको कामनासहित यस दिन व्रत बस्ने धार्मिक विश्वास रहेको छ। सुदूरपश्चिममा गौरापर्वलाई दसैँभन्दा बढी महत्व दिइन्छ, जसका कारण परदेशिएकाहरू समेत घर फर्किने र विवाहित चेलीहरू माइती आउने परम्परा रहेको छ।
यसैबीच, गौरापर्वको अवसरमा सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा दिइएको छ। संघीय सरकारले आइतबार (भदौ १५) का लागि बिदा घोषणा गरेको छ भने प्रदेश सरकारले सोमबार (भदौ १६) का लागि बिदा दिएको छ।

