देशका विभिन्न स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौँ, १५ भदौ – देशका विभिन्न स्थानमा वर्षा भइरहेको भन्दै जल तथा मौसम विभागले सतर्क रहन आग्रह गरेको छ। पछिल्लो एक घण्टामा लम्जुङको राइनासटार वर्षा मापन केन्द्रमा ११५.६ मि.मि. भारी वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ। यसैगरी, गोरखाको आरुघाटमा १७.१ मि.मि., स्याङजामा १४.२ मि.मि., सिन्धुपाल्चोकमा १५.२ मि.मि., डोटीमा १६.२ मि.मि., र बझाङको थलारामा ११.८ मि.मि. वर्षा मापन गरिएको छ।
राजधानी काठमाडौँमा भने हल्का वर्षा भइरहेको छ। विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश हुँदै बग्ने स–साना नदीमा पानीको बहाव आकस्मिक रूपमा बढ्ने सम्भावना छ। आकस्मिक बाढी आउन सक्ने भएकाले मध्यम जोखिम रहन सक्ने चेतावनीसहित सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
Facebook Comments Box

