थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा सक्रिय

नवलपरासी, १४ भदौ – थारू समुदायले आफ्नो मौलिक सांस्कृतिक खेल भोदी संरक्षणका लागि सक्रिय पहल थालेका छन् । परम्परागत खेललाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डास्थित थारू सङ्ग्रहालय परिसरमा शुक्रबार जिल्लास्तरीय पुरुष तथा महिला भोदी खेल प्रतियोगिता आयोजना गरिएको हो ।

कार्यक्रमको आयोजना थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रले गरेको हो । केन्द्रका अध्यक्ष खन्सराम महतोले पछिल्ला वर्षहरूमा लोपोन्मुख अवस्थामा पुगेको खेललाई पुनःजागृत गर्न यो पहल गरिएको बताए । “भोदी खेल केवल खेल मात्र होइन, सांस्कृतिक सम्पदा र सामूहिक एकताको प्रतीकका रूपमा स्थापित हुन सक्छ,” उनले भने ।

यो खेलमा एक समूहमा दश जना खेलाडी सहभागी हुन्छन् । उनीहरूले पालैपालो झटारो हानेर भुइँको खाडलमा राखिएका दशवटा लट्ठी (टाँचा) निकाल्ने नियम हुन्छ । निर्धारित समयमा सबैभन्दा धेरै टाँचा निकाल्ने समूह विजेता बन्ने परम्परा छ ।

अध्ययन केन्द्रका उपाध्यक्ष राजकुमार महतोका अनुसार युवाको उत्साहपूर्ण सहभागिताले खेल संरक्षण र पुस्तान्तरणमा ठूलो सहयोग पुगेको छ । शुक्रबार भएको उद्घाटन कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत उपस्थित थिए ।

भोदी खेल धार्मिक र सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । थारू अगुवा गणेशमान महतोका अनुसार यो खेल विशेषतः अनत चतुर्दशी पर्वका अवसरमा खेलाइने गरिन्छ । धार्मिक मान्यताअनुसार पाण्डवले गुमाएको सम्पत्ति फिर्ताका लागि अनत पर्वमा उपवास गरेका थिए र त्यही अवसरमा भोदी खेल सुरु भएको विश्वास गरिन्छ ।

प्रतियोगितामा जिल्लाका ६० भन्दा बढी पुरुष र महिला समूहले सहभागिता जनाएका थिए । यसले थारू समुदायमा खेलप्रतिको आकर्षण अझै मजबुत भएको आयोजकहरूले बताएका छन् । थारू अगुवाहरूले भोदी खेललाई मौलिक सम्पदा भएकाले यसको संरक्षणमा प्रदेश तथा संघीय सरकारले समेत चासो दिनुपर्नेमा जोड दिएका छन् ।

Facebook Comments Box