बारामा पनि हैजा संक्रमण, पर्साबाट फैलिएको आशंका

काठमाडौँ, ११ भदौ

बारामा पहिलोपटक हैजाको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार कलैया अस्पतालमा उपचाररत कलैया–१८ पचौराका ५५ वर्षीय पुरुषमा बुधबार हैजा पोजिटिभ देखिएको हो ।

संक्रमित व्यक्ति छिमेकी जिल्ला पर्साको वीरगञ्जमा काम गर्दै आएका थिए । आइतबार अचानक झाडापखाल भएपछि उनलाई कलैया अस्पताल भर्ना गरिएको थियो ।

संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मी टोलीलाई उनको गाउँमा पठाई अनुगमन र जनचेतना कार्यक्रम सुरु गरिएको यादवले बताए । विशेषगरी वीरगञ्जसँग सीमा जोडिएका विश्रामपुर, पर्सौनी, परवानीपुर र फेटा गाउँपालिकामा निगरानी बढाइएको छ ।

पर्सामा प्रकोपकै स्वरूप लिएको हैजा हालै पोखरिया नगरपालिकासम्म फैलिएको थियो, जहाँ मंगलबार ५ मध्ये ३ जनामा संक्रमण पुष्टि भएको थियो ।

Facebook Comments Box