एमाले केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटे
काठमाडौँ, ९ भदौ
सामाजिक सञ्जालमार्फत चरित्रहत्या र गाली–बेइज्जती गरेको कसुरमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन् ।
विद्युतीय अपराधसम्बन्धी उजुरीका आधारमा पक्राउ परेका महरलाई हाजिरी जमानीमा छाडिएको साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिनुभयो ।
यसअघि प्रहरीले जिल्ला अदालत, काठमाडौंमा पक्राउ पुर्जीका लागि अनुरोध गरेको थियो । अदालतले भदौ ९ गते नै महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि बुधबार ब्यूरोमा उपस्थित भएका उनलाई पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा प्रस्तुत गरिएको थियो ।
महरविरुद्ध यसअघि पनि एक महिलाले बलात्कारको आरोपमा जाहेरी दिएको घटनाले चर्चा पाएको थियो । बझाङका स्थायी बासिन्दा रहेका महर अनेरास्ववियु अध्यक्ष हुँदै एमालेको राजनीतिमा आएका हुन् ।
गत प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका महर नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग पराजित भएका थिए । एमालेले २०७८ मंसिरमा उनलाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो ।
यौन विचलनसम्बन्धी अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई एकपटक निलम्बन गरे पनि पछि सचिवालय बैठकमार्फत पुनः जिम्मेवारीमा फर्काइएको थियो ।

