शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब रुपैयाँ
काठमाडौँ, ९ भदौ
उच्च शिक्षाका लागि देशभित्र विश्वविद्यालय र शैक्षिक संस्था सञ्चालन भइरहेका भए पनि ठूलो परिमाणमा रकम विदेशिने क्रम रोकिएको छैन। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार, शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ।
अघिल्लो वर्ष शैक्षिक प्रयोजनका लागि एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको थियो। यसरी शिक्षाका लागि जाने रकम वर्षेनी बढ्दो क्रममा रहेको देखिन्छ। त्यस्तै, सेवा खाताअन्तर्गत भ्रमण व्यय १८.१ प्रतिशतले बढेर दुई खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष भ्रमण व्यय एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ थियो।
गत आवमा खुद सेवा आय ९० अर्ब ९४ करोड रुपैयाँ घाटामा रह्यो। अघिल्लो वर्ष यसमा ५५ अर्ब ८६ करोड घाटा थियो। यस्तै, सेवा खाताअन्तर्गत भ्रमण आय ७.७ प्रतिशतले बढ्दै ८८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ८२ अर्ब ३३ करोड रुपैयाँ मात्र थियो।

