पर्सामा महामारी : स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका विदा रोक्ने निर्णय

पर्सा, ९ भदौ

जिल्लामा हैजा र झाडापखालाको संक्रमण फैलिँदै गएपछि स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका विदा स्वीकृत नगर्ने निर्णय गरिएको छ। आइतबार निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधन प्रसाद सिंहको पनि उपस्थिति थियो। बैठकले आवश्यक परे स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएका स्वास्थ्य संस्थामा खटाउने व्यवस्था मिलाउने निर्णय गरेको छ।

निमित्त प्रजिअ कार्कीका अनुसार, संक्रमण नियन्त्रणका लागि सबै निकायसँग समन्वय गरी आवश्यक सामग्री व्यवस्थापन, माइकिङ, घरदैलो कार्यक्रम र सचेतना अभियान तत्कालै सञ्चालन गर्ने सहमति भएको छ। यस्तै, संघीय र प्रदेश सरकारबाट थप जनशक्ति तथा स्रोत साधन प्राप्त गरी जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिमार्फत वितरण, व्यवस्थापन र अनुगमन गर्ने निर्णय गरिएको छ।

संक्रमण फैलनुको स्रोत पत्ता लगाउन (Source of Infection Identification) आवश्यक अनुसन्धान सम्बन्धित स्थानीय तहले गर्ने र त्यसका लागि प्राविधिक सहयोग संघीय तथा प्रदेश स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउने पनि बैठकले जनाएको छ।

Facebook Comments Box