वीरगञ्जमा हैजाको समुदायस्तरीय प्रकोप, ४२ जनामा संक्रमण पुष्टि
वीरगञ्ज, २४ साउन
वीरगञ्जमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको छ। शुक्रबार राति महानगरपालिका–१२ स्थित मुर्ली टोलमा पहिला देखिएका बिरामीहरूका कारण स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो। शनिबारसम्म वडा नम्बर ११, १३ र १६ मा फैलिएको संक्रमणमा १२९ जना बिरामी उपचाररत छन्, जसमा ४२ जनामा हैजा पुष्टि भएको महानगर स्वास्थ्य शाखाका प्रमुख साजु साहले जानकारी दिए।
मुर्ली टोलमा झाडापखालाका लक्षण देखिएका करिब ३० जनालाई तराई अस्पतालमा भर्ना गरिएको थियो। नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयसँगको परीक्षणमा तीन जनामा ‘भिब्रियो कोलेरा’ जीवाणु पुष्टि भएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार, पर्सा जिल्लामा पछिल्लो १० वर्षयता पहिलो पटक यस्तो प्रकोप देखिएको हो। हैजाका लक्षणमा निरन्तर झाडापखाला, वान्ता, पेट दुखाइ, आँखाको गाडिने, शरीरमा पानीको कमी र ज्वरो समावेश छन्। शनिबारसम्म झाडापखालाका कारण दुई जनाको मृत्यु भएको छ, तर हैजाका कारण हो कि होइन भन्ने पुष्टि बाँकी छ।
महानगरपालिकाले संक्रमण फैलावट रोक्न आपतकालीन अभियान सुरु गरेको छ। मेयर राजेशमान सिंहका अनुसार ३२ वटै वडाका स्वास्थ्यकर्मीहरू प्रभावित क्षेत्रमा परिचालित गरिएको छ। २५ वटा टोली घर–घर पुगेर क्लोरिन हालेर पानी शुद्धीकरण, सरसफाइ र व्यक्तिगत स्वास्थ्य सचेतना फैलाइरहेका छन्। साथै, औषधि छर्कने, एम्बुलेन्स र अस्पताल आपतकालीन तयारीमा राखिएको छ।
महानगरले नागरिकहरूलाई निम्न सावधानी अपनाउन आग्रह गरेको छ:
-
पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउनु
-
तरकारी र हरियो सागपात उमालेको पानीले पखालेर खानु
-
बासी वा राम्रोसँग नपकाएको खाना नखानु
-
साबुनपानीले बारम्बार हात धुने र सफा भाँडा प्रयोग गर्ने
-
सफा शौचालय प्रयोग गर्ने
महानगर प्रमुख सिंहले हैजाको प्रकोप नियन्त्रणका लागि सबै जनशक्ति, साधन र स्रोत परिचालन गरी समुदायस्तरीय निगरानी र उपचारमा जोड दिइएको बताएका छन्।

