आँबुखैरेनीमा चेपाङ समुदायका छात्र/छात्रालाई निःशुल्क शिक्षा

तनहुँ, ८ भदौ

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ खोलागाउँका अमृत प्रजा (चेपाङ)ले छात्रवृत्तिमा कक्षा १२ उत्तीर्ण गरेका छन् । गाउँपालिकाले शैक्षिक सत्र २०८१ मा उनलाई आँबुखैरेनीस्थित रामशाह माध्यमिक विद्यालयमा अध्ययन गर्न आर्थिक सहयोग गरेको थियो ।

शिक्षा शाखा प्रमुख निर्मला कुवँरका अनुसार गाउँपालिकाले छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीलाई खाना र बसाइका लागि मासिक रु ५ हजारका दरले वार्षिक रु ६० हजारसम्म सहयोग गर्दै आएको छ । गाउँपालिकामातहतका २४ सामुदायिक विद्यालयमध्ये २२ मा सम्पूर्ण तहमा निःशुल्क शिक्षा व्यवस्था गरिएको उनले जानकारी दिइन् ।

उनले भनिन्, “रामशाह र मित्रता माध्यमिक विद्यालयमा कक्षा ५ सम्म पूरै निःशुल्क गरिएको छ । कक्षा ६ देखि माथि नेपाली माध्यममा निःशुल्क भए पनि अङ्ग्रेजी माध्यममा भने शुल्क लाग्छ ।”विद्यार्थी अमृतको उपलब्धि सम्पूर्ण चेपाङ समुदाय र पालिकाकै गौरव भएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । अमृतसँग भेटघाट गर्दै उनले भने, “आगामी उच्च शिक्षाका लागि बाटो सहज बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्नेछ ।”

अध्यक्ष चुमानका अनुसार चेपाङ, भुजेललगायत सीमान्तकृत समुदायलाई शिक्षामा पहुँच बढाउने, छात्रवृत्ति प्रणालीलाई प्रभावकारी बनाउने र समग्र विकास प्रक्रियामा समावेशिता सुनिश्चित गर्ने विषयमा गाउँपालिकाले विशेष रणनीति बनाउँदै अघि बढ्ने योजना बनाएको छ ।

Facebook Comments Box