बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाकोे सम्भावना

काठमाडौँ, ८ भदौ

देशमा मनसुन सक्रिय रहेकाले आज पनि विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान नजिकै छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव जारी छ ।

यसका कारण दिउँसो देशभर सामान्य बदली रहने अनुमान छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने अन्य प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा समेत वर्षा हुने देखिएको छ । विशेषगरी बागमती र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यससँगै मधेस, कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हुरी–बतास चल्ने सम्भावनासमेत छ । आज राति मधेस, कोशी र देशका अधिकांश पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली मात्र रहने महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने उल्लेख गरिएको छ ।

Facebook Comments Box