झापाको घाग्रा खोलामा पुल निर्माण सम्पन्न, आज उद्घाटन
झापा, ७ भदौ
झापाको विर्तामोड नगरपालिका–२ र कनकाई नगरपालिका–९ जोड्ने घाग्रा खोलामा निर्माण गरिएको पुल आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ।
कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले २८ मिटर लामो उक्त ट्रस पुलको उद्घाटन गर्नुभयो। पुल निर्माणमा उपभोक्ताबाट ८० हजार ४४१ रुपैयाँ २७ पैसा जनश्रमदान र पूर्वाधार विकास कार्यालयको ३९ लाख ४१ हजार ६२२ रुपैयाँ ३५ पैसा गरी कुल ४० लाख २२ हजार ६३ रुपैयाँ ७२ पैसा लागत लागेको छ।
पुल निर्माणमा सहारा नेपालले सामाजिक तथा प्राविधिक सहयोग पुर्याएको हो। पुल निर्माणपछि विर्तामोड–२ र कनकाई–९ का करिब दुई सय ६६ घरधुरी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, वडा नं. २ का वडाध्यक्ष किशोर पौडेल, नेकपा (एमाले) विर्तामोड नगर कमिटी अध्यक्ष सुवाष भट्टराई, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयवासीहरूको उपस्थिति थियो।

