कोशी राजमार्गको हुङ्गुङ खण्डमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन ठप्प

सङ्खुवासभा, ७ भदौ

कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको ठूलो पहिरोका कारण विगत तीन दिनदेखि सवारीसाधनको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

खाँदबारीदेखि किमाथाङ्का नाकासम्म जोड्ने करिब ११५ किलोमिटर दूरीमा पर्ने उक्त खण्ड बिहीबार परेको पहिराले राजमार्ग ठप्प बनेको हो।उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार करिब ३०० मिटर क्षेत्रमा भिरैसहित ढुङ्गा, माटो र झाडी मिसिएको ठूलो पहिरो खसेको छ।

“सडक निर्माणाधीन भएकाले मेसिन प्रयोग गर्नसक्ने अवस्था छैन। भिरालो भू–भाग र लगातारको वर्षाले काम अझ चुनौतीपूर्ण बनेको छ,” गुरुङले बताउनुभयो।

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान, इन्धन र निर्माण सामग्री ढुवानी प्रभावित भएको छ भने यात्रुहरू समेत समस्यामा परेका छन्।

गुरुङका अनुसार वर्षायाममा यस क्षेत्रमा हरेक वर्ष पहिरो जाने गरे पनि यसपटकको क्षति असाध्यै ठूलो भएकाले सडक कहिले खुल्ने भन्ने टुङ्गो लाग्न सकेको छैन। हाल पहिरो पन्छाउने प्रयास जारी भए पनि तत्काल राजमार्ग सञ्चालन हुने सम्भावना न्यून देखिएको छ।

Facebook Comments Box