विद्यालय शिक्षा विधेयक समितिबाट पारित

काठमाडौँ, ५ भदौ

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फरक मत राखे पनि विधेयक बहुमतले पारित भएको हो।

लामो समयदेखि समितिमा अल्झिएको सो विधेयक अब प्रतिनिधिसभाको बैठकमा पेस हुने भएको छ। विद्यालय शिक्षासम्बन्धी कानुनलाई एकीकृत र संशोधन गर्ने उद्देश्यले बनेको विधेयक उपसमिति र समितिमा विस्तृत छलफलपछि अन्ततः पारित भएको हो।

माओवादी केन्द्रले विधेयकविरुद्ध पाँच बुँदे फरक मत दर्ता गरेको छ। माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल, महिन्द्रराय यादव, रेखा शर्मा र ज्ञानु बस्नेत सुवेदीले विद्यालय शिक्षा सुधारका लागि उठाइएका विषय सम्बोधन नभएकाले असहमति जनाएका हुन्।

त्यस्तै, रास्वपाकी सांसद सुमना श्रेष्ठ र राप्रपाकी सांसद विना जयसवालले पनि विधेयकप्रति असहमति प्रकट गर्दै फरक मत राखेका थिए।

Facebook Comments Box