बसाइँसराइले रित्तिँदै म्याग्दीका गाउँ

म्याग्दी, ६ भदौ

पछिल्ला वर्षहरूमा बढ्दो बसाइँसराइका कारण म्याग्दीका ग्रामीण बस्तीहरू रित्तिँदै गएका छन्। जिल्लाबाट वार्षिक करिब २५० परिवार बाहिरिने गरेका छन् भने बसाइँसराइ गरेर आउने परिवारको संख्या भने १०० को हाराहारीमा सीमित छ।

स्थानीय तहका पञ्जीकरण शाखाले सार्वजनिक गरेको अभिलेखअनुसार आर्थिक वर्ष २०८१/८२ मा २४७ परिवारले जिल्ला छाड्दा केवल ८९ परिवार मात्र भित्रिएका छन्। त्यस्तै आव २०८०/८१ मा २५२ परिवार बाहिरिएका र १०० मात्र भित्रिएका थिए।

गत वर्ष बसाइँसराइ गरेर भित्रिने परिवारमध्ये सबैभन्दा धेरै बेनी नगरपालिकामा ४५ रहेका छन् भने अन्य गाउँपालिकामा तीनदेखि १९ परिवारसम्म बसाइँ आएका छन्। तर, बाहिरिने संख्याले ती सबैलाई ओझेल पार्दै बेनीबाट ६५, मंगला गाउँपालिकाबाट ५५, मालिका गाउँपालिकाबाट ३९ परिवारलगायत अन्य गाउँपालिकाबाट पनि ठूलो संख्यामा बसाइँसराइ भएको छ।

वि.सं. २०७८ को जनगणनाअनुसार म्याग्दीमा २९ हजार २४२ परिवारका एक लाख सात हजार ३७२ जनसङ्ख्या बसोबास गर्छन्। तर, २०६८ को जनगणनामा यो संख्या एक लाख १३ हजार ६४१ थियो। ग्रामीण क्षेत्रमा उत्पादनशील उमेरका जनशक्ति पलायन भएपछि विवाहमा जन्ती, मृत्युमा मलामीमा प्रौढ र वृद्ध मात्रै देखिने अवस्था बनेको धवलागिरि गाउँपालिका–४ का चित्र पुनले बताए।

“खेतीयोग्य जमिन बाँझिन थालेको छ, अर्मपर्म गर्ने चलन हराएको छ, आयातित खाद्यान्नमा निर्भरता बढेको छ,” पुनले भने। त्यस्तै, जन्मदर घट्नु र छोराछोरीलाई बजारमा पढाउन लैजाने क्रमसँगै विद्यार्थी संख्या पनि घटेको छ। अन्नपूर्ण गाउँपालिका–७ स्थित टिकोट माविमा हाल करिब ५० विद्यार्थी मात्र पढिरहेका विद्यालयका प्रअ प्रदीप पुनले जानकारी दिए।

म्याग्दीका परिवारले मुख्यतः पोखरा, काठमाडौं, चितवन, बुटवल, तनहुँलगायतका शहरी क्षेत्रमा बसाइँसराइ गर्ने गरेका छन्। सम्पन्नहरूले बजारमा घरघडेरी किनेर झर्ने गरेका छन् भने विपन्न परिवार भने काम र आम्दानीको खोजीमा बसाइँ सर्ने गरेका छन्।

म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक गोरखबहादुर जिसीका अनुसार गण्डकी प्रदेशका म्याग्दी, स्याङ्जा र पर्वतमा बसाइँसराइ उल्टो ढङ्गले बढिरहेको छ। “शिक्षालाई उत्पादन र रोजगारीसँग जोड्न सकेनौं भने जनसङ्ख्या घट्ने दर अझै बढ्छ,” उनले भने।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विकास गाउँतिर पुगे पनि त्यसको उपभोग गर्ने जनसङ्ख्या भने सहरतिर झर्ने वा विदेशिने चुनौती रहेको बताए। उनले विकास आयोजनामार्फत रोजगारी सृजना, कृषि र पर्यटनलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

Facebook Comments Box