कोशी प्रदेशसभामा दुई समितिको वार्षिक प्रतिवेदन पेस
विराटनगर, ५ भदौ
कोशी प्रदेशसभाको आजको बैठकमा सामाजिक विकास समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।
प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसहित) को नियम १४३ बमोजिम सामाजिक विकास समितिको प्रतिवेदन समितिका सभापति गयानन्द मण्डलले प्रस्तुत गरे भने प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिको प्रतिवेदन सभापति होमबहादुर थापाले सदनमा वाचन गरेर सुनाए।
बैठकको विशेष समयमा नेकपा (एकीकृत समाजवादी) का खिनु लङ्वा लिम्बूले विधेयकलाई हतारमा ल्याउनुभन्दा गहन छलफल र सहमतिको आधारमा अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले परिपक्व छलफलबिना विधेयक पारित गर्दा दीर्घकालीन असर पर्ने भन्दै पर्याप्त समय दिएर कार्यान्वयनयोग्य बनाउनुपर्ने धारणा राखे।
त्यसैगरी, नेकपा (माओवादी केन्द्र) का गणेशप्रसाद उप्रेतीले सरकारले नेपाली भूमिको रक्षा गर्न दृढतापूर्वक प्रस्तुत हुनुपर्ने बताए। उनले लिपुलेकमार्फत भारत र चीनबीच व्यापारका लागि नाका खोल्ने विषयमा सरकार स्पष्ट धारणा बनाउनुपर्ने माग राखे।
शून्य समयमा प्रदेशसभा सदस्य गोम्बु शेर्पा, सपना दर्जी, लखीकुमारी गणेश, सविना बजगाईं, तारादेवी ढकाल र मीना श्रेष्ठले विभिन्न समयसामयिक समस्याबारे सरकारको ध्यानाकर्षण गराए। बैठकमा सभामुख अम्बरबहादुर विष्टले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए।

