लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित र दिगोपना कायम प्रदेश घोषित

लुम्बिनी, ५ भदौ

लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित र दिगोपना कायम भएको प्रदेश घोषणा गरिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित विशेष समारोहमार्फत प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेका हुन्।

आर्थिक वर्ष २०८१/८२ मा घरधुरी सर्वेक्षणमार्फत १६ देखि २३ महिनासम्मका ७० हजार ५१८ बालबालिकालाई आवश्यक सबै खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस क्रममा शून्य मात्रा भएका ६९ र छुट भएका २ हजार ३८७ बालबालिकालाई पनि खोजी गरी खोप दिइएको हो।

जिल्लागत विवरणअनुसार सबैभन्दा बढी ड्रप आउट बाँकेमा ७६२, कपिलवस्तुमा ६५२ र रुपन्देहीमा ४४४ देखिएको छ भने रुकुमपूर्वमा शून्य ड्रप आउट भेटिएको छ।

पूर्ण खोप अभियान अन्तर्गत २०८२ जेठ ८ मा नवलपरासी पश्चिमबाट दिगोपना घोषणा सुरु भएको थियो भने अन्तिम घोषणा २०८२ असार २७ मा अर्घाखाँचीमा गरिएको हो।

यसरी सबै १२ जिल्लामा पूर्ण खोप सुनिश्चित भएपछि राष्ट्रिय खोप समन्वय समितिले भेरिफिकेशन गरी प्रदेशलाई आधिकारिक घोषणा गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले “अब कुनै पनि बालबालिका खोप सेवा लिनबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ निरन्तर काम गर्नुपर्छ” भन्दै अभियान सफल बनाउन योगदान दिने सबैलाई धन्यवाद दिए।

स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी २०७९ भदौ ३१ गते पहिलो पटक नेपालकै दोस्रो पूर्ण खोप प्रदेश घोषणा भएको उल्लेख गर्दै त्यसयता हरेक वर्ष सुनिश्चितता र दिगोपना कायम गर्दै आएको बताए। उनले मातृमृत्यूदर, शिशुमृत्यूदर र पोषणजस्ता संवेदनशील सूचक सुधार गर्न प्रदेश सरकारले विशेष प्राथमिकता दिएको स्पष्ट पारे।

राष्ट्रिय खोप समन्वय समिति सचिवालयका अध्यक्ष तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठलाई प्रमाणपत्र हस्तान्तरण गरे।

सो अवसरमा अभियानमा योगदान पुर्‍याउने पाँच स्वास्थ्यकर्मी — ओमप्रकाश पन्थी, दीपाकर कुमार महर्जन, जनकराज गिरी, चिन्तामणी ज्ञवाली र हरिप्रसाद आचार्यलाई विशेष सम्मान गरिएको थियो।

Facebook Comments Box