धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली, ४ भदौ

धनगढीमा विश्वकर्माको पूजा आउन अझै करिब एक महिना बाँकी रहँदा यहाँका मूर्तिकारलाई मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ। धनगढी–२ भन्सारका मूर्तिकार महेन्द्रकुमार शाहले असोज १ गतेको पूजाका लागि अहिले नै मूर्ति बनाउन सुरु गरिसक्नुभएको छ।

उहाँले अहिले सम्म १५ वटा मूर्ति तयार गरिसक्नुभएको र अझै थप मूर्ति बनाउन लागिपर्नु भएको जानकारी दिनुभयो। शाहका अनुसार एउटा मूर्ति बनाउन करिब एक हप्ता लाग्छ र प्रतिमूर्ति पाँच हजारदेखि दश हजार रुपैयाँसम्ममा बिक्री हुन्छ।

त्यसमा करिब ५० प्रतिशत नाफा हुने बताइएको छ। मूर्ति बनाउन माटो, पराल, सुतली, काठ, किला, कपास र बोरालगायत सामग्री प्रयोग हुने शाहले बताउनुभयो। उहाँले विगत तीन दशकदेखि मूर्ति बनाउने पेशा गर्दै आउनुभएको छ।

यस पेसाबाट आठ जनाको परिवारको जीविकोपार्जन र छोराछोरीको पढाइसमेत चलिरहेको उहाँको भनाइ छ। स्थानिय सरकारले कला र संस्कृतिको संरक्षणका लागि मूर्तिकारलाई आर्थिक सहयोग र सीपमूलक तालिमको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

Facebook Comments Box