झिरम उपत्यका आक्रमण मुद्दामा १० माओवादीलाई मृत्युदण्ड

नयाँदिल्ली । भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) को विशेष अदालतले झिरम उपत्यका आक्रमण मुद्दामा दोषी ठहर भएका १० माओवादीलाई मृत्युदण्डको फैसला सुनाएको छ । सेप्टेम्बर ५ मा दोषी ठहर भएका उनीहरूलाई अदालतले बुधबार (सेप्टेम्बर १६) मृत्युदण्डको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१३ मे महिनामा छत्तीसगढको सुकमा जिल्लास्थित झिरम उपत्यकाको दुर्गम वन क्षेत्रमा भएको आक्रमणमा कंग्रेस पार्टीका नेतासहित २७ जनाको मृत्यु भएको थियो । आक्रमणमा कंग्रेसको राज्यस्तरीय शीर्ष नेतृत्वलाई लक्षित गरिएको थियो । आक्रमणकारीले विस्फोटक पदार्थ विस्फोट गराउनुका साथै अन्धाधुन्ध गोली चलाएका र मानिसहरूको समूहमा ग्रेनेड प्रहार गरेका थिए ।

एनआईएका अनुसार दोषी ठहर भएका १० जना माओवादी कार्यकर्ता कंग्रेसका वरिष्ठ नेता तथा सुरक्षाकर्मीमाथि आक्रमण र हत्या गर्ने आपराधिक षड्यन्त्रमा संलग्न रहेको पुष्टि भएको थियो । भारतमा सन् १९६० को दशकदेखि सुरु भएको माओवादी विद्रोहका क्रममा अहिलेसम्म १२ हजारभन्दा बढी मानिसको मृत्यु भएको बताइन्छ । यसअघि सन् २०२० मार्चमा सन् २०१२ को दिल्ली बसमा भएको सामूहिक बलात्कार तथा हत्या घटनामा दोषी ठहर चार जनालाई मृत्युदण्ड दिइएको थियो ।

Facebook Comments Box