पदमार्ग अभावले ओझेलमा जल्पाताल

बागलुङ, ३० साउन

चारैतिर अग्ला पहाडले घेरेको, बीचमा निश्चल र स्वच्छ पानीले भरिएको, शान्त र मनोरम वातावरणको सुन्दर स्थल — जल्पाताल। रङ्गीन फूलहरूले सजिएको यो दृश्य एकपटक हेर्ने जो कोही मोहित हुन्छ। बागलुङको ढोरपाटन नगरपालिका–९ मा समुद्री सतहबाट ४,४०० मिटरको उचाइमा अवस्थित जल्पाताल प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि प्रचार–प्रसार र पदमार्गको अभावमा अझै गुमनाम छ। वर्षायाममा वरपरको पाटनमा भेडा चराउन गोठाला पुग्छन्, तर पर्यटकका पाइला दुर्लभ छन्।

यो ताल बागलुङ र रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको सीमा क्षेत्रमा पर्छ। ढोरपाटन उपत्यकाबाट दुई दिन पैदल हिँडेर यहाँ पुग्न सकिन्छ। तर, व्यवस्थित पदमार्ग नभएकाले छिटफुट पुग्ने पर्यटक अनुमानमै बाटो समाएर फर्किन्छन्।ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनका अनुसार जल्पातालको पर्यटकीय सम्भावना उच्च छ तर राज्यले नै प्रचार–प्रसार गर्नुपर्ने आवश्यकता छ।

“बुकीपाटनमा जस्तै प्रचार र पूर्वाधार निर्माण भए जल्पातालमा पनि पर्यटकको चाप बढ्छ,” पुनले भने, “हामी स्थानीयले आफ्ना जिम्मेवारी पूरा गर्छौँ, सरकारले पनि कदम चाल्नुपर्छ।” तनहुँका पत्रकार विनोद ढुङ्गानाले जल्पाताललाई ‘स्वर्गको टुक्रा’ जस्तै वर्णन गर्दै, व्यवस्थित पदमार्ग र सूचना बोर्ड राखिए पर्यटक संख्या उल्लेख्य रूपमा बढ्ने बताए। उनका अनुसार वरपरका पहाडमा भूक्षय भइरहेकोले संरक्षणको काम पनि अत्यावश्यक छ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गर्ने बताए। “यो वर्ष सूचना बोर्ड र केही पदमार्ग निर्माण गर्छौँ, बाँकीका लागि माथिल्लो निकायसँग सहकार्य गर्नेछौँ,” उनले भने। नगरपालिकाले जल्पातालसँगै बुकीपाटन क्षेत्रको समेत प्रवर्द्धन गर्ने गरी पर्यटन महोत्सवको योजना बनाएको छ।

Facebook Comments Box